काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढङ्गले अघि बढेको बताएका छन् ।

‘भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ ।’ प्रम ओलीले भने ।

आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रम ओलीले मातहतका नजरबाट गिर्न नहुने निर्देश गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताए । प्रतिपक्षीतर्फ इङ्गित गर्दै प्रम ओलीले सरकारलाई अनावश्यक रुपमा बाधा भइरहेको बताए । ‘हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ ।’

प्रधान मन्त्री केपी ओलीले आफ्ना मातहतका कर्मचारीलाई पारदर्शी र गतिशील बन्न निर्देशन दिएका छन् । भ्रष्टाचार अन्त्य गर्न सदाचारितालाई अवलम्बन गर्नका लागि सूत्र बनाएर अघि बढ्न प्रम ओलीको आह्वान थियो ।

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउने उद्देश्यसहित काम गर्नुपर्ने बताए । साउनको शुरुबाटै काम गर्न सकिन्छ भन्ने सोचले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी शुरु गरेको प्रम ओलीले स्पष्ट पारे । उनले समय खेर नफाल्न निर्देशन गरेका छन् ।

‘मेरो र मन्त्रीजीहरूको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ, अब मन्त्रीजी र सचिवहरुबीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।