बिर्तामोड । झापाको बाह्दशी गाउँपालिका २ का एक बालकको घाग्रा खोलाले बगाएर मृत्यु भएको छ । उनीसँगै गएका साथी भने हालसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बाह्दशी २ का रोहित मलिक डुमका ११ बर्षीय सागर मलिक डुमको खोलाले बगाएर मृत्यु भएको हो । सोही स्थानका सन्तोष मलिक डुमका १२ बर्षीय छोरा बादल मलिक डुम भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
साइकलमा दुबैजना खेल्न भन्दै निस्किएकोमा सोही वडामा पर्ने घाग्रा खोलाको किनारमा उनीहरुको साईकल र लगाएको कपडा फेला परेको थियो । घाग्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको आशंका सहित खोजतलास गर्दा सागरको शव बाह्रदशी १ सिप्ताबारी नजिक बिरिङ खोलामा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । सागरको शव साइकल फेला परेको भन्दा अन्दाजी ९ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले बादल मलिक डुम फेला नपरेको हुँदा खोजतलास तिब्र पारिएको बताएको छ । उनको खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।