बेलबारी । मोरङको बेलबारीमा लाग्ने सोमवार बजारमा कर संकलक र व्यापारी बीच कर संकलनमा विवाद हुँदा सोमवार व्यापारीहरुले बजार वन्द गरेका छन् ।
अघिल्लो सोमबार हटियामा व्यापार गर्दै आएका रङ्गेली ७ सुवास भाँडा पसलका व्यापारी सुवास चौधरी र बजार ठेकेदार बेलबारी ११ लक्ष्मीमार्गका विवश राई बिच कर संकलनको विषयमा विवाद हुँदा व्यापारीहरुले हटिया बन्द गराएका हुन् ।

व्यापारी चौधरीले यस अघि हटियामा आफुले पसल राखेको ठाउँ बापत ठेकेदारलाई ६० रुपैयाँ बुझाउँदै आएको थियो । तर साउन ६ गते एकसय रुपैयाँ मागेपछि विवाद उत्पन्न भएको व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले ठेकेदारहरुको अभद्र व्यवहारको विरोध गर्दै एक्कासी सय रुपैया उठाएको विरोधमा हटिया बन्द गराएको जनाएको छ । व्यापारीहरुले बन्दको आह्वान गरेपछि हटियामा सब्जीको मात्र बजार लागेको थियो ।

नगरपालिकाले करिब तीन वर्ष अगाडि निर्माण गरेका कर खाताको अनुसूची ५ को दफा ६ मा भने भाँडा पसल राख्ने व्यवसायीले दैनिक व्यावसाय कर एकसय रुपैयाँ नै तिर्नुपर्ने उल्लेख छ । यद्यपी हटियामा फोहोर व्यवस्थापन, शौचालय,टहरा आदिको व्यवस्था नभएको कारण जनाई ६० रुपैया प्रतिदिन संकलन गर्ने ठेकेदार र व्यवसायी बीच सहमति भएको थियो । सहमतिमा भएको विषय उलंघन भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद भएपछि बेलबारी नगरपालिकाको कार्यालयमा छलफल भएको थियो । छलफलले भाँडा पसललाई प्रतिदिन एक सय र रेडिमेड कपडालाई ८० रुपैया संकलन गर्ने निर्णय भएको थियो । छलफलमा उद्योग वाणिज्य संघ,व्यापारी,ठेकेदार जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले यही आर्थिक वर्ष भित्र बजारमा रहेका विभिन्न समस्याहरुलाई व्यवस्थित गरिने बताएकी छन् ।

बेलबारी नगरपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा उपमेयर पराजुली, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेशजंग कार्की, नगपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, विभिन्न वडाका वडाध्यक्षहरु, ठेकेदार र व्यपारी पक्षको सहभागिता रहेको थियो ।