उदयपुर । वर्षायाम अर्थात् साउनमा पनि उदयपुरको नेपानेमा खानेपानीको हाहाकार मच्चिएको छ । त्रियुगा नगरपालिका–१४ नेपाने गाउँमा महिनौंदेखि धारामा पानी नआएपछि खानेपानीको हाहाकर मच्चिएको हो ।
महिनाैं देखि धारामा पानी नआएपछि कि त आकाशको पानी कि त आधा दिन लगाएर खोला धाउनुपर्ने बाध्यता आएको स्थानीयबासीले बताए । आकाशको पानी छानोबाट खसेको बलेसीमा भाँडाकुँडा राखी थापेर खानुपर्ने बाध्यता आएको स्थानीय नन्दमाया मगरले बताइन् ।
‘खोलाको पानी गाग्रीमा भरी डोकोमा बोकेर घर ल्याउँदा आधा दिन बित्ने भएकाले आकाशको पानी खानुपर्ने बाध्यता छ’ –मगरले भनिन् । पानीको मुहानमा मर्मत गर्न जाँदासमेत धारामा पानी नआएको उनले बताइन् ।
दुई वर्ष पहिले घरनजिकै धारा बनेपछि खानेपानीको ठूलो राहत मिलेको थियो । तर धारामा पानी आउन छाडेपछि वर्षायाममा समेत ठूलो समस्यामा परेको मगरले बताइन् । धारामा पानी नआएपछि गाउँबासी पुरानै समस्याले काकाकुल जिन्दगी जीउन बाध्य भएको उनले बताइन् ।
खानेपानी ल्याउन छिमेकी वडा नं. १५ को कोप्चे र सिमखेत जानुपर्ने भएकाले पानी ल्याउन करिब ४ घण्टा लाग्ने गरेको स्थानीयबासीले दुःखेसो पोखेका छन् । एक गाग्रो पानी लिनकै लागि झण्डै आधा दिन बित्ने गरेपछि स्थानीयले १३ वर्षदेखि आकाशको पानीलाई मूलस्रोतको रूपमा लिएका छन् ।
नेवा संस्थाले आकाशको पानी जम्मा गर्नका लागि ‘घैँटे पानी सङ्कलन’ योजना ल्याएपछि त्यस परियोजनाले केही राहत मिलेको स्थानीय हृदयकुमार मगरले बताए । आकाशको पानी सिधै गाग्रीमा थाप्न मुस्किल भएपछि घरको छानोमा झरेको पानी किनाराबाट पाइप राखी सङ्कलन गर्ने गरेको उनले बताए ।
छानोको पानी पाइपबाट घरअगाडि निर्माण गरिएको सिमेण्टको ट्याङ्कीमा जम्मा गर्ने गरेको राईले बताए । दुई हजार लिटर क्षमता रहेको उक्त ट्याङ्कीको पानी पिउनका लागि मात्रै प्रयोग गर्ने गरेको राईले बताए ।
ट्याङ्कीमा पानी भरी बनाउँदा पिउनको लागि मात्रै झण्डै एक महिना धान्ने गरेको राईले बताए । पानी अभावले घरमा शौचालय भए पनि प्रयोगविहीन भएको छ । पानी नभएपछि गाउँलेहरू शौचालय छाडेर जङ्गल जाने गरेको र नुहाउन, कपडा धुन, पशुचौपायालाई खुवाउन ३ घण्टा लगाएर खोलाखोल्सी धाउनुपर्ने राईले बताए ।
पानीको समस्याले नुहाउन, लुगा धुनलगायतका सरसफाइका लागि हप्तादेखि महिना कुर्नुपर्ने बाध्यता छ । ‘घरमा पानी ल्याउनका लागि दैनिक एकजना नियमित खट्नु पर्छ अरु केही काम गर्न भ्याइँदैन’–उनले भने । तर पछिल्लो समयमा आएर घैँटे पानी सङ्कलन प्रविधिले केही राहत मिलेको स्थानीयले बताए । गाउँमा २३ घरपविारले बसोबास गर्दै आएका छन् । गाउँमा पानी नपाएर नै कतिपय पानीको स्रोत भएको ठाउँतिर बसाइ सरेर गएको स्थानीयले बताए ।
पानी नपाएपछि आफ्नो प्राण जोगाउनका लागि बसाइ सरिगएको स्थानीय रामबहादुर राई बताए । पानीबिनाको काकाकुल जीवन बिताउँदै आएका नेपानेबासीले खोल्सा र जङ्गलका बीचमा खोस्रिएर बनाएको कुवाको पानीले दैनिक समस्या टार्दै आएको राईले बताए ।
उक्त बस्तीमा खानेपानीको समस्या हल गर्नका लागि सम्बन्धित निकाय र खानेपानी मन्त्री बिना मगरसँग नै छलफल भएको त्रिनपा–१४ का वडाध्यक्ष कुरुङ राईले बताए । खानेपानीको समस्या समाधान गर्न योजनाको माग गरेकोमा मन्त्रीले सम्बोधन गरेको उनले बताए ।
बस्ती अग्लो ठाउँमा र पानीको मुहान तल्लो भेगमा भएकाले पानी ल्याउन सहज नभएको वडाध्यक्ष राईले बताए । वडा नं. १५ को अँधेरीलाई मुहान बनाएर पानी ल्याउनसके मात्र योजना सफल हुने उनले बताए ।