धरान / नेपाल पत्रकार महासंघ सुनसरीले ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीसहित दुई जनालाई सम्मान र ७ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
महासंघको कार्यालय धरानमा सोमबार आयोजित कार्यक्रममा प्रधान सम्पादक कार्की र अग्रज पत्रकार हर्ष सुब्बा सम्मानित भएका हुन् । कार्की र सुब्बालाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले जनही नगद २० हजारसहित सम्मान पत्र प्रदान गरे ।
त्यसैगरी धरान उपमहानगरपालिकाले प्रदान गर्ने १५ हजार राशीको पत्रकारिता पुरस्कार औजार दैनिकका केदार बस्नेत र हाम्रो कोशी आवाजका शेखरविक्रम जोगीलाई वितरण गरियो । जोगी औजार दैनिकसँग पनि आवद्ध छन् ।
इटहरी उपमहानगरपालिकाले प्रदान गर्ने ३५ हजार राशीको पत्रकारिता पुरस्कार कृष्ण भट्टराई र रोमा रिजाललाई वितरण गरियो भने इनरुवा नगरपालिकाले प्रदान गर्ने २१ हजार राशीको पत्रकारिता पुरस्कार पत्रकार मिकाइल आलम र प्रमोद यादवलाई प्रदान गरियो । त्यसैगरी पत्रकार सालिग्राम पाण्डे र मेनुका पाण्डेले आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको चन्द्र लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कार पत्रकार मनिता चाम्लिङलाई प्रदान गरियो । पुरस्कृतहरुलाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, धरान उपमहानगरपालिका १५का वडाअध्यक्ष नरेश इवारम, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतले वितरण गरे ।