दमक/ झापाको दमक बजार क्षेत्रमा निकै आकर्षक स्थल छ । अन्य ठाउँभन्दा फरक छ बाटो र बाटोको दुवै किनारमा निर्माण गरिएको संरचना । यतिमात्र हाेइन बाटोको बीचमा बिसौनी अनि ठाउँ ठाउँमा फास्ट फूडको उपलब्धता पनि छ । यतिमात्र होइन, साँझ परेपछि रङ्गीबिरङ्गी बत्तीहरूको मनोमोहक प्रकाश । यही बत्ती सँगै पानीको फोहोरासहितको अर्को आकर्षक स्थान । यही सुन्दरताका कारण दमकसहित आसपासका विभिन्न सर्वसाधारणहज्ञ यहाँ घुम्नैका लागि मात्र भए पनि आउने गर्छन् ।

यतिको आकर्षक स्थल हो दमक– ६ मा अवस्थित नमूना बजार । बजार स्थित शङ्खधर चोकबाट दक्षिण, महावीर फार्मेसीभन्दा उत्तरको करिब ५ सय मिटर लम्बाइ र ५० फिट चौडाइ रहेको यो बाटो दमककै नमूना हो । त्यसैले यसको नाम पनि नमूना बजार राखिएको छ । यतिमात्र हैन नमूना बजार नेकपा अध्यक्ष केपी शर्मा ओली दोस्र्रो पटक प्रधानमन्त्री हुने पूर्वसन्ध्यामा उद्घाटन गरिएको हुँदा समेत यो बजारले विशेष महत्व पाएको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको यो बजार अहिले भने असुरक्षित बन्दै गएको छ । यहाँ निर्माण गरिएका संरचनाहरू विभिन्न अज्ञात समूहले भत्काइ दिन्छन् । भत्काइएको संरचनाको बारेमा गुनासो लिएर प्रशासनमा गएर सुरक्षा माग्दा वास्ता हुँदैन भन्ने खबर सुन्दा सायदै वर्तमान प्रधानमन्त्रीमा ओली नै विराजमान रहेका बेला कसैलाई पत्यार नलाग्न सक्छ ।

स्थानीय व्यवसायी तथा नमुना बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका राजकुमार श्रेष्ठको पसल नमुना बजारमा पर्छ । पानीको फोहोरा निस्कने ठाउँकै छेउँमा रेडिमेड कपडा पसल गरेर बसेका श्रेष्ठ भन्छन् ‘नगरको गौरवको रूपमा त यो ठाउँ बन्यो तर यसमा शान्ति सुरक्षा र यसको उचित संरक्षण चाहिँ हुन सकेन ।’ रात परेपछि यहाँ रहेका बत्तीका बल्वहरू फुटाइने, प्रवेशद्वार भत्काउने, गमला र गमलामा रोपिएका फूलहरू भत्काउँदै उखेल्ने गतिविधि बढिरहेको उनले बताए । सबैको साझा सम्पदा भए पनि स्थानीय स्तरमा सुरक्षा गर्ने अथक प्रयास भए पनि रोकथाम हुन नसकेको उनको भनाइ छ ।

नमुना बजारमै थोक कपडा पसल गर्दै आएका अर्का व्यवसायी सन्तोष श्रेष्ठ नगरपालिका र प्रशासनले नमूना बजारको संरक्षणमा उति चासो नदेखाएको बताए । ‘नगरपालिकाले नगर प्रहरी खटाएको भन्छ, तर त्यो नगर प्रहरी कहाँ हुन्छ ? के गर्छ ? हामीलाई थाहा नै हुन्न । उनले भने बजारको बीचमा बनाइएको बगैँचा फोहोरको डङ्गुरले भरिएको छ । प्रभावकारी सफाइ हुँदैन । तर सफाइवापतको रकम भने पाथ वे नेपालले हरेक महिना लैजाने गर्छ ।’

दमकसहित आसपासका सर्वसाधारणलाई साँझपख घुम्न र रमाइलो गर्नका लागि जाने ठाउँ हो नमुना बजार । यसले दमकको शान र गौरव बढाएको पनि छ । प्रदेश नं १ मै पहिलो पटक बजारको बीचमा पानीको फोहोरा सहितको संरचना बनाइएको यो नै पहिलो रहेको नगरपालिकाले दाबी गरिरहे पनि यसको संरक्षणमा चासो नदेखाएको स्थानीय व्यवसायीको गुनासो छ । तर, यो कुरा न प्रशासन मान्न तयार छ न त नगरपालिका नै ।

व्यवसायीको आरोप मिथ्या : प्रहरी
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी श्यामलकुमार सुब्बा नमूना बजारका व्यवसायीको यो कुरामा अहिले कुनै सत्यता नभएको दाबी गर्छन । उनी भन्छन् ‘व्यापारीको यो आरोप मिथ्या हो प्रशासनलाई बद्नाम गराउने प्रकृतिको मात्र हो । किनकी, प्रहरीले त्यहाँ प्रहरी बीट नै राखेर रातको १२ बजे सम्म नियमित सुरक्षा प्रदान गर्दै आएको छ ।’ दिनमा नगर प्रहरी हुन्छ रातमा जनपथ प्रहरी अनि कसरी असुरक्षित भयो नमूना बजार ?

डिएसपी सुब्बाले प्रतिप्रश्न गर्र्दै भने ‘नगरको गौरव बढाउने यो कुरामा हामी सदैव सचेत छौँ । त्यस ठाउँका व्यवसायीलाई जत्तिकै नमूना बजारको चिन्ता हामीलाई पनि छ ।’ डिएसपी सुब्बाले भने । यस भन्दाअघि नमुना बजारमा सञ्चालनमा रहेका केही रेष्टुरेण्टहरूका कारण असुरक्षा भएको गुनासो बढेपछि हामीले ती रेष्टुरेण्टमा कडाइ गरेपछि अहिले कुनै अशान्ति हो हल्ला, टुटाउने फुटाउने केही र कुनै प्रकारका घटना नभएको डिएसपी सुब्बाले बताए ।

कसैले केही गरे हामीकहाँ उजुर गर्नुस् : वडाध्यक्ष थापा
यो बजारको संरक्षक समेत रहेका दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाले नमूना बजार नगरलाई गौरवान्वित बनाउने बजार रहेकाले यसमा कसैले हल्ला फिँजाई राख्न आवश्यक नरहेको बताए । यसभन्दा अगाडि भएका विभिन्न उच्छृङ्खल गतिविधि गर्ने केही व्यक्तिहरूलाई प्रहरीको सहयोगमा पक्राउ समेत गरिएको हुँदा अहिले यस ठाउँका बासिन्दा सचेत बनिसकेको बताए ।

यदि अझै पनि कसैले कुनै अमानवीय र उच्छृङ्खल गतिविधि गरेको पाएमा वा देखेमा तत्कालै वडा कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । आधार र प्रमाण सहित ल्याएमा त्यस व्यक्तिलाई तत्काल कारवाहीका लागि प्रशासनमा सिफारिस समेत गरिने उनले बताए । गत वर्षको वैशाख १९ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बजारको उद्घाटन गरेका थिए । यो बजार स्थानीय उपभोक्ताबाट १६ लाख र १ करोड १९ लाख दमक नगरपालिकाको लागतमा निर्माण भएको वडाध्यक्ष थापाले जानकारी दिए ।