धरान । संविधानले दिएको क्षेत्राधिकारमा रहेर प्रदेश सरकारले सबै जातजातिलाई संरक्षण गर्ने गरी कानून निर्माण गर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

अञ्जुमन इस्लामियाको आयोजनामा शनिबार भएको एसईई तथा प्लस टु उतीर्ण विद्यार्थीहरूलाई प्रोत्साहन तथा सम्मान कार्यक्रममा मन्त्री कार्कीले संवैधानिक व्यवस्थामा रहेर संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संविधानले व्यवस्था गरेको लोकसेवा आयोग, स्वास्थ्य, शिक्षालगायतमा जातिगत आरक्षणलाई संरक्षण गर्ने गरी कानून ल्याउने बताए । उनले संविधानको अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रदेश सरकारले कानून नल्याउने बताए ।

‘सबै जातजातिलाई संरक्षण गर्ने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाउछु’ उनले भने । उनले स्थानीय सरकारले जग्गा उपलब्ध गराए मर्दसा निर्माणमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । उनले भने, ‘स्थानीय सरकारले जग्गा उपलब्ध गराउनुभयो भने विभागीय मन्त्रीको हिसाबले त सहयोग गर्न नसकिएला । तर सरकारको तर्फबाट मर्दसाको लागि सहयोग गर्ने वचनबद्धता जनाउँछु ।’

उनले धर्मका नाममा अरुलाई उत्पीडन हुने वा आफ्नै समुदायभित्र पनि त्यस्ता कुरा भए कानूनत दण्डनीय हुने बताए । त्यसमा कसैलाई पनि कानूनले छुट नदिने उनले बताए । ‘व्यक्तिले गरेका घटनालाई समुदायसँग जोडेर गरिने अपराधमा आफू कटिबद्ध भएर लाग्नेछु’ उनले भने । उनले मुस्लिम समुदाय राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको इतिहास पढेको र सुनेको बताए । उनले धरान पर्यटनको ‘गेटवे’ का रूपमा रहेकाले यसलाई त्यहीअनुसार नै विकास गरेर लाने बताए । प्रदेश सरकारले पर्यटन र खेलकुदमा धरानलाई प्रमुखताका साथ राखेको उनले बताए ।

त्यसक्रममा मुस्लिम समुदायबाट एसईई र प्लस टु उतीर्ण गरेका ४० जना विद्यार्थीहरूलाई प्रोत्साहन तथा सम्मानित गरिएको थियो । एसईईतर्फ २५ र प्लस टुतर्फ १५ जना उतीर्ण विद्यार्थीलाई सम्मानित गरिएको अञ्जुमन इस्लामियाका सहसचिव अब्दुल मोजिबले बताए । उनीहरूलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । अञ्जुमन इस्लामियामा ४७ वर्षदेखि कोषाध्यक्ष पदमा रहेर काम गर्दै आएका हाजी यार मोहम्मदलाई सम्मानित गरिएको थियो ।

धरानका मुस्लिम समुदायले मर्दसाको विषयलाई पेचिलो रूपमा उठाउँदै आइरहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार धरानमा १ हजार ८ सय ३ जनसङ्ख्या रहेको छ । तर, मर्दसाका लागि छुट्टै व्यवस्था नहुँदा अञ्जुमन इस्लामियामै पढाउँदै आइरहेका छन् । अञ्जुमन इस्लामियाका अध्यक्ष शेख युसुफ अलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ की सांसद् उमिता बराइली, धरान उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीलगायतको उपस्थिति रहेको थियो ।