इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष ०७६।७७ का लागि ६९ करोड हाराहारीको बजेट नगर सभामा पेश गरेको छ । असार १० गतेका लागि डाकिएको नगरसभा नगरभित्रको गतिरोध अन्त्यसँगै एक महिनापछि शुक्रबार सञ्चालनमा आएको हो ।
नगर प्रमुख राजन मेहताले चौथो नगर सभाका बीच ६८ करोड ७६ लाख ८८ हजार रुपैयाँको प्रस्तावित अनुमानित खर्च विवरण पेश गरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा मेहताले वार्षिक बजेट पार्टीगत स्वार्थ भन्दामाथि उठी समग्र नगर विकास केन्द्रित अवधारणा अनुरूप सहमतिका आधारमा तयार पारिएको बताए ।
बजेटले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, सूचना प्रविधिको विस्तारका अलावा कला, साहित्य र सामाजिक सुरक्षा तथा रोजगार सिर्जना गराउने जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
यस पटकबाट इनरुवा नगरमा यसअघि सञ्चालनमा रहेका बहुवर्षीय योजनालाई क्रमागत योजनामा परिणत गरी अघि बढाउन लागिएको छ । नगरसभामा पेश गरिएको वार्षिक बजेट नीति तथा कार्यक्रममा नगरका सबै दशवटै वडाका लागि चालु खर्च र क्रमागतसमेत गरी १ करोड ९७ लाख रकम विनियोजन गरिएको छ ।
प्रस्तुत कार्यक्रममा मेयरले एक पटकमा १० हजार भन्दा बढी खर्च गर्न नपाउने र कुनै योजना तथा कार्यक्रम सञ्चालन गर्दा विषयगत समिति मार्फत् अघि बढाउनु पर्ने उल्लेख छ ।
त्यसैगरी बजेट नीति तथा कार्यक्रममा ३ र ४ नम्बरबाहेकका वडाहरूलाई योजना सञ्चालनमा प्राथमिकता दिइने र उपमेयरको संयोजकत्व रहेका विभिन्न समितिलाई समेत केही रकम विनियोजन गरिने जस्ता बुँदा समावेश गरिएको छ ।
नगर सभामा कालुराम गुरुङ संयोजकत्वको समितिले नगरका हरहिसाब सम्बन्धमा गरेको छानविन प्रतिवेदनका केही बुँदासमेत सार्वजनिक गराइएको छ । जसमा मेयरले बढीमात्रामा ठाडो तोक आदेशमा रकम खर्चिएको, फुटकर, मर्मत र इन्धनका नाममा तोकिएभन्दा बढी खर्च गरिनुका साथै अनुगमन समितिको राय बेगर रकम भुक्तानी गरिएको जस्ता विवरण समावेश गरिएको छ ।