धरान । सुनसरी हरिनगर गाउँपालिका– ५ स्थित सिसुवा सडक–खण्डको कज्वेमा बगेको भेलमा परेर शुक्रबार एक युवाको ज्यान गएको छ ।
भुटाहा बजारका लागि हिँडेका भोक्राहा नरसिंह गाउँपालिका–८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो । उनी कज्वे तर्ने क्रममा भेलले बगाएर २ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रबार बिहानैदेखि परेको पानीका कारण सुनसरी खोलाको पानीको सतह बढ्न गई सिसुवा भुटाहा सडक खण्डको सिसुवादेखि २ सय मिटर पूर्वमा रहेको कज्वेमा बगेको भेलले मेहतालाई बगाएको थियो । उनी सामान्य खेतीकिसान गर्दै आएका थिए । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।