विराटनगर ।  दुई दिनदेखिको लगातार वर्षापछि विराटनगर महानगरपालिकाका तीनवटा वडा फेरि डुबानमा परेका छन् । केशलिया खोलाको बहाव बढेर विराटनगर महानगरपालिकाको ६, १२ र १६ नम्बर वडाको बस्तीमा बाढी पस्दा शुक्रबार डुबान भएको हो ।

बर्सेनी केशलिया खोलाबाट मनोमानी रूपमा उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर अहिले विराटनगर दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नु परेको छ । वर्षा शुरु भएसँगै केशलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा महानगरका सयौं घर डुबानमा पर्ने गरेका छन् । मापदण्ड विपरीत उत्खनन् हुने खोलाको धार सिधै बस्तीतर्फ सोझिएर बाढी पस्दा हजारौं विस्थापित हुने गरेका हुन् ।

खोला बस्तीमा पस्दा विशेषगरी विराटनगर–६ को रामपुर, १२ को बखरी, सिमराई टोल र १६ को दरैया बस्तीका ७० घर डुबानमा पर्दा करिब ३ सय जना विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । उनका अनुसार विस्थापित भएका घरपरिवार नजिकको विद्यालय र मन्दिरमा शरण लिएर बसेका छन् । यी बस्तीमा आवत–जावतमा समस्या भइरहेको छ । घर डुबानमा परेपछि बखरी र सिमराई टोलका स्थानीय बखरी आधारभूत विद्यालयमा शरण लिएर बसेका हुन् ।

‘अहिलेसम्मको अवस्था सामान्य छ’ मोरङ प्रहरीका डिएसपी खिउँजुले भने, ‘डुबानमा परेका स्थानीय नजिकैको स्कुल र मन्दिरमा बसोबास गर्दैछन् । पानी केही रोकिएको छ । पानी रोकिएन भने मात्र समस्या हुने हो ।’ गत असारको अन्तिम साताको वर्षापछि केशलिया र सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगरको अधिकांश वडाका घर डुबानमा पारेका थिए ।

विराटनगरको पश्चिमतर्फ रहेको सुनसरी र मोरङको सिमाना भएर बग्ने केशलिया खोलाको धार परिवर्तन गरेर गिट्टी–बालुवा उत्खनन् हुँदै आएको थियो । सामान्य वर्षा हुनासाथ अहिले यही खोला गाउँमा पसेको छ । शुक्रबार केशलिया खोला बस्ती पस्दा विराटनगरको १२ र १६ नम्बर वडाका ३ सयजना विस्थापित भएका छन् ।

खोलाको साविक बहाव परिवर्तन गराउँदै उत्खनन् र प्लटिङ गराउँदा प्रत्येक वर्ष वर्षामा बाढी बस्तीभित्र पस्ने गरेको विराटनगर–१२ बखरीका अनिल यादवले बताए । ‘खोलाको र जमिनको सतह बराबर भएकैले बहाव बढ्नेबित्तिकै बाढी बस्तीसम्म आइपुग्छ’ उनले भने, ‘बर्सेनी बाढीले क्षति गरेको देख्दादेख्दै पनि महानगर र प्रहरीले नियन्त्रणका लागि कुनै कदम चालेको देखिँदैन ।’

केशलिया खोलामा २०५२ सालदेखि नै स्थानीय र सुनसरीका ठेकेदारहरूले खोलाको धार परिवर्तन गराएर अवैध उत्खनन् गर्दै आएका छन् । यहाँका स्थानीयले केशलिया खोला बस्तीमा पस्न नदिन बलियो तटबन्धन गर्न माग गरेका छन् । उनीहरूले स्थानीय तह र प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् ।

‘सामान्य वर्षा हुँदा पनि केशलिया खोला बस्तीमा पस्ने गरेको छ’ बखरीका मञ्जे यादवले भने, ‘हामीले निर्वाचित जनप्रतिनिधिहरूलाई कति पटक आग्रह गरिसक्यौं । हाम्रो कुरा सुन्न चाहँदैनन् । हामीलाई राहतभन्दा पनि बस्तीमा बाढी पस्न नदिन बलियो तटबन्धन गरिदिए हुन्थ्यो ।’