पथरीशनिश्चरे । लगातारको वर्षाका कारण आएको बाढीले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको जिरिखिम्तीमा पर्ने डाँस खोलाको पुल संकटमा पारेको छ ।

डाँस खोलाको बाढीले पुलको पूर्वतर्फको उत्तरी भागमा लगातार कटान गरेर पुलमाथि नै संकट सिर्जना गरेको १० नम्वर वडा सदस्य अनोज घिमिरेले बताए ।

खोलाले लगातार पूर्वपश्चिम मुख्यसडकको सो पुलतर्फ कटान बढाएर मलामी जाने बाटो समेत भत्काएपछि नगरपालिका कार्यालयले स्काभेटर लगाएर खोलाको धार परिवर्तनको प्रयत्न गरिरहेको छ ।

बाढीले पुलको सोही भागमा केही क्षति पुर्याएपछि गत वर्ष सडक विभागले तारजाली स्पर लगाएको थियो । तर सो स्परभन्दा उत्तरमा कटान गरी खोलाले पुल र सडकमै ठूलो क्षति पुर्याउन लागेपछि स्थानीय त्रसित बनेका छन् । डाँसखोलाले त्यसभन्दा दक्षिणमा खेत कटान गरेको छ । जिरिखिम्ती पुछारमा समेत मोरङ्गी खोलाले कटान गरिरहेको छ ।

उता, बक्राह खोलामा आएको बाढीले अत्याधिक रुपमा कटान गरिरहेको छ । जसबाट उर्लाबारी ४ बक्राह घाट उत्तर र उर्लाबारी १ को चिसापानी क्षेत्रमा खोला गाउँ पस्ने खतरा बढेको छ ।

यता, चिसाङ खोलाले पनि बेलबारी नगर क्षेत्रका गाउँबस्तीमा कटान बढाइरहेको छ ।