एजेन्सी / राजीव गान्धी हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेकी एस नलिनीलाई बिहीबार एक महिनाका लागि पेरोल ( थुनुवालाई असल आचरणका कारण स्थायी वा अस्थायी रुपमा थुनामूक्त गरिने कार्य) मा भेल्लोर केन्द्रीय काराकारबाट बाहिर निकालिएको छ ।

राजीव गान्धी हत्या मुद्दाका सात दोषीमध्ये नलिनी एक हुन् । यस अघि उनी बुवाको मृत्यु भएपछि जेल बाहिर आएकी थिइन् । अहिले भने नलिनीले छोरीको विवाहको तयारीका लागि ६ महिनाको पेरोल माग गरेकी थिइन् । तर, मद्रास उच्च अदालतले ५ जुलाईमा ३० दिनको पेरोलको अपिल मञ्जुर गरेको थियो । नलिनीकी छोरी बेलायतमा मेडिकल अध्ययन गरिरहेकी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत महिना न्यायाधीश एमएम सुन्दरेश र एम निर्मल कुमारको बेञ्चले पेरोल सुनुवाई गरेको थियो । तमिल नाडु सरकारले बढीमा एक महिनाको पेरोल दिन सकिने बताएको थियो । नलिनीले विवाहको तयारीका लागि एक महिना पर्याप्त नहुने बताएकी छन् ।

नलिनीलाई जेलबाहिर कोही नेतासँग भेटघाट गर्ने अनुमति दिइएको छैन । उनलाई कडा सुरक्षाका बीच अदालतमा पेश गरिएको थियो । २५ जुनमा उनको याचिका माथि सुनुवाईको अनुमति दिइएको थियो ।

सन् १९९१ म राजीव गान्धीको हत्या भएको थियो । नलिनी भेल्लोरमा २७ वर्षदेखि जेलजीवन बिताइरहेकी छन् । उनीकी छोरीको जन्मसमेत जेलमा भएको थियो । उनीसँगै अन्य ६ जना दोषीसमेत जेलमै छन् । यी ६ जनामा नलिनीका श्रीमान् मुरुगन समेत छन् । तमिलनाडुस्थित श्रीपेरमबुदुरमा एक चुनावी सभाका क्रममा २१ मे सन् १९९१ म लिट्टेको आत्मघाती आक्रमणमा पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो ।

अप्रिलमा नलिनीले मद्रास उच्च अदालतमा उनको कुरा राख्न अवसर दिनुपर्ने अपिल गरेकी थिइन् । मृत्युदण्डको सजायलाई राज्य सरकारले जन्मकैदमा परिवर्तन गराएको थियो । तमिलनाडु सरकारले २४ अप्रिल २००० मा यो सजायलाई जन्मकैदमा रुपान्तरण गरेको थियो ।