इटहरी/ मोरङको सुन्दरहरैंचा स्थित पूर्वपश्चिम लोकमार्गमा बनेको कालोपत्रे सडक जीर्ण बन्दै गएको छ ।
१ महिनाअघिमात्र मर्मत गरेको सडक लथालिङ्ग अवस्थामा पुगेको हो । वर्षायाममा सडक जीर्ण बन्दै गएपछि स्थानीय आक्रोशित भएका छन् । सडक डिभिजन कार्यालयले गरेको टालटुले कामले अहिले सर्वसाधरणले दैनिक सास्ती भोग्नु परेको छ ।
१ करोड ८३ लाख बजेटमा गीताञ्जली जेभी निर्माण कम्पनीले ठेक्का पाएर गरेको काम अहिले पूर्ण रूपमा जीर्ण बनेको हो । स्थानीयवासीले बाटो बनाउँदै बजेट सक्ने काम गरेको भन्दै विरोध जनाएका छन् । ‘हामीले बारम्बार सडक निर्माणको काम प्रभावकारी नभएको गुनासो गरे पनि सुनिएन ।’ सुन्दरहरैंचा ८ का स्थानीय कृष्ण लामिछाने भने ।
सुन्दरहरैंचा –९ का व्यवसायी भोलेश्वर दुलालले सडकको अवस्थाले गर्दा व्यवसायी मारमा परेको बताए । उनले उक्त सडकमा भएको खाल्डाले गर्दा व्यवसायीले उत्पादन गरेको सामान समेत बाहिर बजारमा लैजान समस्या भएको गुनासो गरे । उनले उक्त सडक निर्माण गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् । यसरी बाटो बन्दा सर्वसाधरणले दुःख पाएको उनी बताउँछन् ।
स्थानीय अर्जुन गजुरेलले विराटचोकदेखि इटहरीसम्मको बाटो पूर्ण रूपमा जीर्ण बनेको बताए । मुख्य हाईवेको बेहाल भएको भन्दै यात्रा नै असुरक्षित रहेको बताए । सडक कालोपत्रे गर्ने ठेकेदालाई कारवाही गर्न माग गरे । ठेकेदार कमाउ धन्दामा मात्र लागेको भन्दै आर्थिक वर्षको अन्तिममा हुने विकासे बजेटले समस्या भएको उनी बताउँछन् ।
मोरङ प्याब्सनका अध्यक्ष अर्जुन बस्नेतले उक्त सडक समस्याको कारक बनेको बताएका छन् । २ महिना नपुग्दै भात्किँदा हजारौं यात्रुले सास्ती भोग्न बाध्य भएको उनी बताउँछन् । सडकको बिजोक भएको भन्दै यस विषयमा गम्भीर बन्न उनको अनुरोध छ । सडक मर्मतको नाममा ठूलो रकम खर्चिए पनि बालुवामा पानी हाले बराबर हुन पुगेको सर्वसाधरण बताउँछन् ।
सुन्दरहरैंचा –७ का वडाध्यक्ष चैतन्य सिटौलाले पूर्वपश्चिम लोकमार्ग नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने हुँदा यस विषयमा केही गर्न नसक्ने बताए । ‘हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको विषय हो ।’ उनले भने, ‘जनताले हामीलाई बारम्बार सोध्छन् तर हामीले के भन्ने ?’
यता सुनसरी मोरङ सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख शुभराज न्यौपाने भने वर्षाको कारण भत्किएको हुन सक्ने बताए । यस विषयमा अनुगमनसमेत भएको भन्दै मर्मतको काममा केही कमजोरी भएको उनी स्वीकार गर्छन् ।