बेलबारी/ डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विभिन्न अभियान चलाए पनि मोरङको बेलबारी नगरपालिकामा भने डेङ्गु सङ्क्रमित एकजनाको मृत्यु भएको छ ।

पाँचदिन अगाडिदेखि ज्वरोले थला परेका बेलबारी–३ निवासी शिवराज गुरुङको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको हो । ज्वरो निको नभएपछि उनलाई नोवेल अस्पताल विराटनगरमा सोमबार भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको मृतकका भाइ मीनबहादुर गुरुङले जानकारी दिए । अस्पतालले दिएको रिपोर्टमा गुरुङलाई डेङ्गुको सङ्क्रमण र टाइफाइड भएको देखिएको छ । यसअघि पनि बेलबारीकै एकजना शिक्षकको डेङ्गु सङ्क्रमणबाट निधन भएको थियो ।

यसैगरी केराबारीमा डेङ्गुका बिरामी बढ्दो रहेको छ । केराबारीमा डेङ्गु नियन्त्रणका लागि औषधि छरे तापनि अहिले केराबारी बजारमा ३० जनाभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । सीमित स्रोत–साधनका बीच डेङ्गु नियन्त्रणका लागि विभिन्न गतिविधि भने गरिरहेको उपस्वास्थ्य चौकी केराबारीका टोम चौलागाईंले बताएका छन् ।

त्यसैगरी अहिले केराबारी–९ मा पनि १० जनामा डेङ्गुको सङ्क्रमण रहेको वडासदस्य नरबहादुर मगरले बताए । डेङ्गको महामारी केराबारीमा फैलन थालेपछि अहिले सर्वसाधारणमा त्रास फैलिएको छ ।

केराबारी गाउँपालिकाको केहि दिनअगाडि बसेको विपद् व्यवस्थापनको बैठकमा डेङ्गु रोगको रोकथामको उपायको विषयमा छलफल भएको थियो । साथै डेङ्गु नियन्त्रणका लागि पुःन औषधि छर्ने व्यवस्था मिलाउने र सर्वसाधारणलाई पनि यसबाट बच्न जनचेतना फैलाउने निर्णय भएको छ ।