इनरुवा/ एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसीएमसी इनरुवामा परामर्श तथा उपचार सेवाका लागि पुग्नेमा सबैभन्दा बढी बलात्कार घटनाका पीडितहरू रहेका छन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्दा उपचारकालागि पुग्नेमा बलात्कारका घटनामा पीडित बनेकाहरूको सङ्ख्या बढी पाइएको हो । जसमा १४ वर्ष मुनिका बालिकाको संख्या ३२ जना रहेको छ । उक्त सङ्ख्या विगतका वर्षको तुलनामा बढी भएको केन्द्रले जनाएको छ ।

ओसीएमसी फोकल पर्सन मिना भण्डारीका अनुसार आर्थिक वर्ष २०७५।०७६को असार १४ सम्मको अवधिमा २ सय ५२ जना बलात्कारमा परेकाहरूलाई उपचारका साथै आवश्यक परामर्श सहित कानुनी उपचार र पुनस्र्थापना सेवा प्रदान गरिएको छ ।

ओसीएमसीले उपलब्ध गराएको विवरणमा १५ देखि ४१ वर्ष उमेर समूहका पीडितको सङ्ख्या १ सय ९९ रहेको छ भने ५० देखि ६५ वर्ष समूहका १५ जना र ६५ वर्ष माथिको सङ्ख्या ६ जना छ । सेवा लिन ओसीएमसी पुग्ने पुरुषको सङ्ख्या ९ जना रहेको छ ।

त्यसैगरी शारीरिक चोटपटकका १ सय ७ र यौनजन्य हिंसा सम्बन्धी घटनाका ८४ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएको भण्डारीले बताइन् । ४६ जना घरेलु हिंसा पीडित उपचारकालागि इनरुवा अस्पतालमा रहेको ओसीएमसी पुगेका छन् । केन्द्रमा प्रहरी मार्फत सेवा लिन पुग्नेको संख्या १ सय ६८ जना रहँदा आफै जानेका ६७ जना रहेका छन् ।

केन्द्रमा पुगेर शारीरिक परीक्षण गर्नेको सङ्ख्या २ सय ९६ रहेको छ भने मेडिको जाँच सङ्ख्या १ सय ३१, एचआइभी टेस्ट १ सय १६, गर्भ परीक्षण ६७, घाउ चोटपटक १ सय ७५, आकस्मिक गर्भ निरोधक सेवा दिएको सङ्ख्या ३३ र यौन रोगको उपचार गर्नेको सङ्ख्या ६२ रहेको छ ।

त्यसैगरी ४ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् भने २ जना मानसिक रोगीको उपचार ओसीएमसीबाट गराइएको भण्डारीले बताइन् । ओसीएमसी इनरुवाले २ सय ७८ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुका साथै अन्य उपचार सेवा सङ्ख्या ८५ गरी ७ सय २० जनालाई सेवा प्रदान गरेको जनाएको छ ।