इटहरी/ २०७४ साल साउन २७ गते आएको बाढीले इटहरी–३ कोस्थित सुनौलो बस्तीमा गतवर्ष साउन २७ गते राति बूढी खोलामा आएको बाढीको कारण इटहरी तहसनहस भयो । इटहरीमात्र नभई इटहरी आसपासका धेरै गाउँ बाढीको चपेटामा परे । इटहरीले जनधनको क्षतिको सामना गर्नुपर्यो ।

दुई वर्षअघि आएको बाढीले १ सय २७ घर परिवार विस्थापित भए । त्यो बेला बूढी खोलमा आएको बाढीले ९ जनाको ज्यान लिएको थियो । यो वर्ष पनि यो उस्तै जोखिममा छ । सुनौलो बस्ती ब्लक बीको २ घर खोलाले कटान गरी बगाई सकेको छ । बाढीपीडित गीता परियारले भनिन्, ‘वर्षेनी आउँने बाढीले असाध्यै दुःख दियो । ठूलो पानी आउँदा पनि हामी सुत्दैनौ’– नी भन्छिन् ।

बाढीका कारण अहिले पूरै गाउँ समस्यामा परेको बताउँछन् स्थानीय तीर्थ दर्जी । पूरै बस्ती कटानको उच्च जोखिममा भएपछि अहिले छेउका घरका समान सुरक्षित ठाउँमा सारिएको र घरहरू भत्काउन थालेको उनको भनाइ छ । पूरै गाउँ बाढीको जोखिममा हुँदा हामीलाई समस्या हुँदै आएको छ’ दर्जी भन्छन्, ‘वर्षेनी यही समस्या झेल्दै बस्नुको विकल्प भएन ।’ यस्तै सुनौलो बस्ती ब्लक ए मा पनि बाढीले कटान शुरु गरेको छ ।

बाढीले कटान गर्दा जाली लड्न थालेको स्थानीय राजकुमार तामाङ बताउँछन् । वर्षेनी ठूलो मानवीय र भौतिक क्षति व्यहोर्दै आएका यहाँका बासिन्दाले क्षति हुन नदिन प्रभावकारी काम नभएको गुनासो गरेका छन् । तामाङ भन्छन्, ‘हाम्रो समस्या ज्यूँको त्यूँ छ ।’ विगत वर्षदेखि नै सुरक्षित स्थानमा सार्नका लागि माग गरेको भए पनि चासो नदिएको स्थानीयको उनीहरूको भनाइ छ ।

बस्ती जोगाउन स्थानीय स्तरबाट पहल गरे पनि बस्ती सुरक्षित स्थानमा सार्ने प्रयास आफूहरूको क्षमताभन्दा माथिको भएको इटहरी–३ का वडा सदस्य बाबुराम नेपालले बताए । २०७४ सालमा बाढीका कारण इटहरीका करिब ५ सय घरपरिवार विस्थापित भएका थिए । बाढीले इटहरी–३, ४, ९ र १० का खोलाकिनारमा बस्ने सुकुम्बासी धेरै समस्यामा परेका थिए ।

सुनौलो बस्तीका बाढीपीडितले फाटेको मन अझै दह्रो गरी सिलाउन सकेका छैनन् । अहिले पनि ठूलो पानी पर्दा सुनौलो बस्तीका सर्वसाधारण अहिले पनि रातभरि सुत्दैनन् । गत वर्षको बाढीमा भिनाजु, दिदी, र एक भतिजी छोरी गुमाएकी सानुमाया राईका आँखा अझै ओभाएका छैनन् ।

सानुमाया र उनकी दिदी आशादेवी सँगै बगेका थिए । तर केही समय बगेपछि उनीमात्र एक्लै किनारमा आइन् । बाढी प्रभावित सुनौलो बस्ती र आसपासको क्षेत्रमा नदीले कटान थालिसक्दा पनि सुरक्षाकर्मी आएर हेर्नुबाहेक अरु काम हुन सकेको छैन । बाढीबाट बस्ती जोगाउन तटबन्धदेखि बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

गैरीगाउँ जस्तै इटहरी उपमहानगरपालिका–४ को सुनौलो बस्ती पनि बाढीको त्रासमा बाँचिरहेको छ । दुवै बस्तीका बाढीपीडितहरू सरकारले बाँध बाँधीदेला र ढुक्कले बसौला भन्ने पर्खाइमा छन् ।