धरान । देवऋषि आचार्य समाजले आईतबार धरानमा भानु जयन्तिको अवसर पारेर लैंगिक समानता एवं समाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
समाजसंग आवद्द लगभग पचास जना महिला र पुरुष सहभागी सो कार्यक्रम उद्घाटन गर्दै समारोहका प्रमुख अतिथी नेकपाका नेता एवं प्रदेश सभा सदस्य भिम आचार्यले लैंगिक समानताको महत्व वर्तमान परिपेक्षमा अझ धेरै बढेको बताए । आचार्यले वर्तमान समयमा कोही कसैलाई लैंगिकताको शिकार बनाएमा समाज बिभाजित हुने बताए ।

मुलुकको राजनीति लगायतका सबै खाले संरचनाहरु सवावेशी हुनुपर्ने र राज्यका हरेक निकायमा सबैको समान पँहुच भएमा मात्र लोकतन्त्रको भावनाको सही कदर हुने कुरामा आफू विश्वस्त रहेको समेत उनले बताए । कार्यक्रमको सहजिकरण समाजका विकास आचार्य र सामाजिक अगुवा सुख शान्ता राईले गरेका थिए । सोही कार्यक्रममा यस वर्षको एसईई परिक्षामा उच्चतम अंक ल्याउने धरानका अठार जना विद्यार्थीहरुलाई प्रशंसापत्र सहित सम्मान गरीएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सचिव विकास आचार्यले धरानको सामाजिक क्षेत्रमा थपिएको यो नवीन संस्थाले धरानको गरिमालाई उच्च राख्न र यहाँको सामाजिक कृयाकलापमा समेत महत्वका साथ आफूलाई कृयाशिल बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘देवऋषि आचार्य समाज पनि आगामी दिनमा धरानको महत्वपूर्ण सामाजिक संस्थाको रुपमा स्थापित हुदै धरानवासीको हितमा काम गरेर परिचित हुनेछ ।’

कार्यक्रम समाजका तदर्थ समितिका संयोजक राजेश आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने गिरिराज आचार्य , अम्बिका घिमिरे आचार्य , लोकेन्द्र आचार्य र ९ नम्बर वडाध्यक्ष रत्न बहादुर कटुवालले मन्तव्य राखेका थिए ।