इटहरी । पूर्वको व्यापारिक शहर इटहरी हरेक वर्षको वर्षायाममा जलमग्न हुन्छ ।
२०७४ श्रावण २७ गतेको बाढीले इटहरीमा बितण्डा मच्चायो । सेहरा खोलामा आएको बाढी गाउँमा पस्दा इटहरी क्षेत्रमा धनजनको समेत क्षति भयो । वर्षातको समयमा सेहरा खोला टेङ्ग्रा खोलामा मिसिँदा बर्सेनी इटहरी क्षेत्रमा जोखिम हुने गरेको छ । तर बर्सेनी वर्षायाममा मात्र समस्या उठ्ने गरेको छ ।
बाढीको समस्या समाधान गर्न अघिल्लो वर्ष २०७५ सालमा इटहरी उपमहानगरपालिका कार्यपालिकाको बैठकले सेहरा खोलाले विनाश निम्त्याउन सक्ने स्थानको स्थलगत निरीक्षण गरी खोलाको तटीय क्षेत्रमै बैठक बसेको थियो । त्यतिबेला सेहरा खोलाको पश्चिमी तटबन्ध निर्माण गर्न ३० लाख रुपैयाँ नगरसभाबाट पारित गरी रकम छुट्याएर काम थाल्ने निर्णय भएको थियो ।
सेहराका कारण इटहरीको वडा नं. २ र ३ वडालाई बढी असर गर्ने गरेको छ । सेहरा खोला बूढीखोलामा मिसिने हुँदा त्यसले पनि तटबन्ध भत्काउँदा वडा नं. ३, ४, ९ र १० वडालाई बढी क्षति पु¥याउने गरेको छ । शुक्रबार त्यही सेहरा खोला तरहरा हुँदै इटहरीस्थित बस्तीमा पसेर बितण्डा मच्चाएको बताउँछन् इटहरी हलगडाका युवा मिलन त्रिताल । सेहराको बाढी मुख्य हाई–वेमै पसेपछि सर्वसाधारणको सेवामा दिनभर खटेका उनले भने, ‘खोइ, इटहरी सरकारको काम गराइ नै भएन ।’
इटहरीको वडा नं. २०, २ र ३ का पूर्व र पश्चिम दुवै मानव बस्तीमा बाढी प्रवेश गर्दा बस्ती पूरै डुबाउँथ्यो । स्थानीय सरकारको खेलाँचीकै कारण बर्सेनी इटहरीबासीले दुःख पाएको बताउँछन् इटहरी–४ का सन्तोष खड्का । उनी भन्छन्, ‘इटहरीजस्तो शहरको हालत देख्दा विरक्त लागेर आउँछ ।’ इटहरीको मुख्य समस्या बाढीलाई नियन्त्रण गर्न हेल्चेक्र्याइँ नगर्न उनको आग्रह थियो ।
सेहरा खोलाले तरहरा तथा आसपासका क्षेत्र डुबाएको छ । बाढीका कारण इटहरी–धरान सडक–खण्ड केहीबेर अवरुद्धसमेत भएको छ । तरहरा वरगाछी क्षेत्रमा आएको बाढीले आवत–जावत गर्नसमेत समस्या भएका कारण युवाहरू बाटोमै बसेर सर्वसाधारण यात्रुहरूलाई आवत–जावतमा सहयोग गर्दै आएका छन् ।
इटहरी–२ तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डुबानमा परेको छ । बाढीले केन्द्रका माछासमेत बगाएको छ । त्यस्तै इटहरीस्थित सैनिक क्याम्पअगाडि राजु थापाको घरमा समेत बाढीले क्षति पु¥याएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीका नवनिर्वाचित अध्यक्ष भीम पौडेल आफै डोजर र स्काभेटर लिएर खोला सफा गर्न निस्किएका थिए । इटहरीको मुख्य चौकमै समस्या हुन थालेपछि आफूहरू खोला सफाइमा लागेको पौडेलले बताए ।
इटहरीमा बाढीले बगाएर एक युवक बेपत्ता भएका छन् । इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसअगाडिको सुकुमारी खोलाले बगाएर सिमरबना घर भई सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३५ वर्षीय सागर थापा बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए । बिहीबार बिहान ११ बजे घरनजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए ।
पैनी अतिक्रमणको परिणाम
इटहरीमा रहेका पैनी तथा खोलाको सीमा इटहरी उपमहाननगरपालिकाले छुट्याउन नसक्दा इटहरीमा बर्सेनी डुबानको समस्या ज्यूँका त्यूँ छ । जग्गा व्यापारीहरूले पैनीमा मनपरी गर्दा वर्षायाममा इटहरी डुब्ने गरेको छ ।
२०५३ सालमा नगरपालिका बनेको इटहरी दुईदशक नपुग्दै उपमहानगरपालिका बन्यो । पहाडबाट बसाइ सरेर आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बस्ती बढ्ने क्रम रोकिएको छैन । बस्ती बस्ने क्रममा खोला तथा पैनीको भाग अतिक्रमण भएका कारण वर्षामा इटहरीमा डुबानको समस्या हुँदै आएको छ । खोला र पैनीको भाग अतिक्रमण भएको भए पनि कहाँ कति भाग मिचिएको छ भन्ने कुनै तथ्याङ्क छैन ।
जनप्रतिनिधि नहुँदै इटहरी उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत महेश्वराज तिम्सिनाको पालामा इटहरीमा एक हजार बिघाभन्दा बढी ऐलानी जग्गा भएको र धेरै पैनीहरू मिचिएको उपमहानगरपालिकालाई प्रतिवेदन बुझायो । तर अहिलेसम्म सार्वजनिक पैनी खोज्ने कामले राम्ररी प्राथमिकता पाउन सकेको छैन ।
समिति बन्यो, काम बनेन
बाढीको समस्या इटहरीमा बढेपछि दुई वर्षअघि नेपाली काङ्ेग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलको संयोजकत्वमा जनस्तरबाट जोखिमबाट बचाउन समिति बनेको थियो ।
त्यतिबेला समितिको सदस्यहरूमा तत्कालीन एमाले नगरअध्यक्ष रेवती घिमिरे, तत्कालीन नेकपा माओवादी केन्द्रका नगरप्रमुख सागर सुवेदी रहेका थिए । यस्तै नागरिक समाजको तर्फबाट दिनेश रसाइली, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीलगायत समितिमा बसेका थिए ।
केही समय सेहरा खोलालाई स्काभेटर लगाएर खन्ने र जोखिमको क्षेत्रमा बाँध बनाउने काम शुरु गरिएको थियो । त्यसपछि यो समिति निष्कृय हुँदै गयो । तर सेहेरा खोला भने शहर पस्न छोडेको छैन ।