धरान । लगातार वर्षाको कारण सुनसरीको वराहक्षेत्र नगरपालिका–६ मा पर्ने श्रीलङ्का टप्पुको चिलैया बस्तीमा कोशी कटान तीव्र भएको छ ।
लगातार झरी परेपछि कोशीमा पानीको सतह बढेसँगै चिलैया बस्तीमा कटान तीव्र भएको हो । वडासदस्य श्याम लिम्बूका अनुसार चार दिनदेखि कटान हुन थालेको छ । उनले भने, ‘श्रीलङ्का टप्पुको पूर्वी किनारा भएर बग्ने कोशीले चिलैया बस्तीका करिब ५० घरका डेढसय परिवार जोखिममा परेका छन् । उद्धारका लागि कतैबाट पहल हुन सकेको छैन ।’
चिलैया बस्तीमा रहेको बालसेवा आधारभूत विद्यालय पनि कटानको जोखिममा परेको उनले बताए । कोशीले पछिल्लो चार दिनयता दैनिक सरदर पाँच मिटरको दरले कटान भइरहेको वडासस्य लिम्बूले बताए । उनले भने, ‘यसरी नै तीव्र कटान हुने हो भने अबको दुई तीनदिनमा चिलैया बस्ती नै बगाउने छ । पानीको सतह पनि बढीरहेकाले कहाँ जाने, के गर्ने आत्तिएका छौं ।’
कोशी कटान र बाढीको सामना गर्दैै श्रीलङ्का टप्पुमा २०२० सालदेखि तीनहजार बढी विभिन्न समुदाय बसोबास गर्दै आएका छन् । सरकारी निकाय र प्रहरी प्रशासनको कमै उपस्थिति हुने उक्त श्रीलङ्का टप्पु उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको बीचमा पर्छ ।
वडा सदस्य श्याम लिम्बूले भने, ‘सरकारले पनि कोशीको पूर्वी किनारामा हुने कटानमात्र बढी ध्यान दिने गरेको छ तर दुई भङ्गालोको बीचमा रहेको श्रीलङ्का टप्पुको चिलैया टोलमा वर्षेनी हुने कटान बाढीपीडितप्रति भने कसैले चासो दिने गरेका छैनन् ।’
































