विराटनगर /  लगातारको बर्षा र निकास नहुँदा डुवानमा परेको विराटनगरस्थित कोशी अञ्चल अस्पताल परिसरको पानी सशस्त्र प्रहरी र सुरक्षा गार्डको सहयोगमा निकाल्न सुरू गरेको छ ।
सशस्त्र प्रहरी बल ३ नम्बर गढ कंकालिनी मोरङका सहि केदार कटुवालको नेतृत्वमा आएको प्रहरी टोलीले कोशी अञ्चल अस्पताल परिसरमा जमेको पानी पम्पसिटबाट निकाल्न सुरू गरेको हो ।

मंगलबार रातीदेखि परेको वर्षा र पानीको सतह बढेपछि बिहीबार कोशी अस्पतालको परिसर डुवानमा परेको थियो । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भयो ।

लगातारको वर्षा र अस्पताल भित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मि कक्ष भित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसिटको माध्यमबाट पानी बाहिर फाल्न सुरु गरेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले बताए ।

‘हिजोभन्दा आजा परेको मनसुनले पानीको सहत बढेको छ,’ उनले भने, ‘परेको पानी निकास हुन नसक्दा अस्पताल भित्र प्रवेशद्धारमै पानी जलमग्न छ ।’ सशस्त्र प्रहरी र अस्पतालको सुरक्षा गार्डको सहयोगमा अहिले पम्पसिटबाट जमेको पानी बाहिर फाल्न सुरु गरेको छ ।

मंगलबारदेखि परेको पानी बुधबार प्रशासनिक भवनको कार्यकक्षमा पानी छिरेको थियो । ढलको निकाश नगरी सडक उचो बनाईदिँदा अस्पताल भित्र पानी पसेको हो । पानीको निकाश नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ ।

‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खोलेर अस्पताल भित्र पस्नु पर्ने अबस्था आएको छ ।’ –डा. पोखरेलले भने, विराटनगर महानगरपालिकाले निकासको लागि कुनै चासो दिएको छैन ।’ अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ । ढलको निकास छैन भने सडकको पानीसमेत अस्पतालमा छिर्दा अस्पताल भित्र पानी जमेको हो ।

 

koshi 2