सप्तरी/ एचआईभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।
एचआईभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआईभी/एड्सका परमर्शदाता सुनिता यादवले बताए ।
सप्तरीमा २ सय १२ एचआईभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआईभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.चुमनलाल दासले जानकारी दिए ।
सुरक्षाकवच अपनाऔँ तर भेदभाव नगराँै भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जीवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।
निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्यालबाट, एचआईभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआईभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआईभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा. दासले बताए ।
निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआईभी सङ्क्रमित १ सय ११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् । एचआईभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रोलिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ ।