धरान/ धरान–१६ स्थित शारदा बालिका नमूना उच्च माविले आफ्नो स्थापनाको ७२ औं वार्षिक उत्सवको अवसरमा १ सय ४ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । शारदा बालिका विद्यालय छात्राहरूमात्र अध्ययन गर्ने पूर्वको एकमात्र शैक्षिक संस्था हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डुराम जवेगुको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सवमा शिक्षा विभाग समन्वय इकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहालले शारदा बालिका स्कुल पूर्वकै नमूना भएको र छोरीहरूको भविष्य निर्माणमा अभिभावक तथा शिक्षकहरू जिम्मेवार हुनुपर्ने बताए ।

विद्यालयमा प्रधानाध्यापक मेघराज भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा वर्ष खेलाडी घोषित कक्षा नौ की प्रेरणा मगर, प्रतिभाशाली विद्यार्थी रिया राई र तुलसा राईलाई ज्योतिपुञ्ज बालक्लबका संरक्षक शिक्षक पदमप्रसाद लुइटेलले प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका थिए ।

वार्षिक समारोह सम्पन्न गर्न पवित्रा राई नेतृत्वको स्काउट तथा समीक्षा राई नेतृत्वको बालक्लबले स्वयम्सेवकको भूमिका निर्वाह गरेको थियो । बालिकाहरूले गीत, नृत्य प्रस्तुत गरेर वार्षिक उत्सवलाई मनोरञ्जन प्रदान गरेका थिए ।