पाँचथर/ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पाँचथरका चार स्थानीय तहका विपन्नलाई स्वरोजगार बनाउने अभियान शुरु भएको छ ।
जिल्लाको फाल्गुनन्द, मिक्लाजुङ, तुम्बेवा र कुम्मायक गाउँपालिकाका एक सय ४० जना विपन्नलाई लघु उद्यम तालिम दिने काम भइरहेको छ । घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको सहयोगमा गैरसरकारी संस्था मिलन केन्द्र नेपालले स्वरोजगारका लागि सीप विकास तालिम दिइरहेको हो ।
सीप विकास तालिममा अधिकांश महिलाहरूको सहभागिता रहेको मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिंह नेम्बाङले बताए । धेरै महिलाहरूले ढाका बुनाइ र सिलाइ कटाइ तालिम लिइरहेका छन् । त्यस्तै दुग्ध डेरी सञ्चालन, बाख्रा पालन, डल, कुशन बनाउने र बुटिक तालिम सञ्चालन भइरहेको केन्द्रकी कार्यक्रम संयोजक दीपा राईले बताइन् ।
कार्यक्रम अन्तर्गत लामो अवधि र मध्यम अवधिको तालिममा ४२–४२ जना महिला सहभागी छन् । मिक्लाजुङ, तुम्बेवा र कुम्मायक गाउँपालिकामा सञ्चालन भइरहेको ढाका बुनाइ तालिमलाई लामो अवधिको सीप विकास तालिमको रूपमा राखिएको छ । फाल्गुनन्द र तुम्बेवामा सिलाइ कटाइ र बाँसबाट उत्पादित हस्तकलाबारे तालिम प्रदान गरिँदै छ ।
दुग्ध डेरी सञ्चालन, बाख्रा पालन, डल र कुशन बनाउने साथै बुटिकलाई भने छोटो अवधिको सीप विकास तालिमअन्तर्गत राखिएको छ । स्थानीयस्तरमै उपलब्ध हुने स्रोत–साधनको प्रयोगबाट तालिम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका वरिष्ठ उद्योग अधिकृत ईश्वरीप्रसाद अधिकारीले बताए ।
































