रङ्गेली/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले शान्ति सुरक्षा कायम गर्न देशको वर्तमान अवस्थामा प्रदेश १ अगाडि रहेको बताएका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा सांसद्हरूको जवाफ दिने क्रममा उनले अहिलेसम्म भएका घटनामा प्रदेश सरकारले ९५ प्रतिशत घटना टुङ्गो लागाइसकेको बताए । उनले अपराधी पत्ता लगाउने र कारबाही गर्ने काम भएको तथा अनुसन्धानमा पनि अन्तिम अवस्थामा रहेको उनको जिकिर थियो । उनले विकृति मानसिकताका घटना विकसित मुलुकमा पनि हुने गरेको बताए ।
उनले प्रदेश प्रहरी ऐनको सबै तयारी भए पनि सङ्घीयको नआएकोले पर्खनु परेको बताए । प्रदेशको सीमा सुरक्षाको लागि ४१ वटा बोर्डर आउटपोष्ट (बिओपी) निर्माण गर्ने जानकारी दिए । प्रदेश १ मा अहिले १७ वटा बिओपी रहेकोमा प्रत्येकको दूरी २१ किलोमिटर रहेको उनले जानकारी दिए । जसमा एक–अर्काबीच समन्वय समेत हुन नसक्ने उनले बताए ।
झापा, मोरङ र सुनसरीमा बिओपिको दूरी ७ किलोमिटर रहने उनले बताए । पहाडी र हिमाली जिल्लामा भने बढी हुनसक्ने उनले बताए । त्यसैगरी प्रदेश प्रहरी कार्यालयसहित ५१ वटा भवन निर्माणको लागि ४९ करोड विनियोजन गरेको बताए ।
त्यसैगरी मुख्यमन्त्री अत्यावश्यक सेवा १४ वटै जिल्लामा सञ्चालन गरिने भएको छ । जहाँ १ प्रहरी भ्यान, एक दमकल र एक एम्बुलेन्स रहने उनले जानकारी दिए । प्रदेश १ का सबै स्थानीय तहलाई एक –एक एम्बुलेन्स उपलब्ध गराउने जानकारी पनि दिए । यसै आर्थिक वर्षबाट सगरमाथा टिन्स क्लब पनि सञ्चालनमा ल्याउने बताए ।
यसअघि विनियोजन विधेयकमा आन्तरिक मामिला मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसद् कुलप्रसाद साम्बा, श्रीप्रसाद मैनाली, जयराम यादव, प्रतापप्रकाश हाङ्गाम र शिवनारायण गनगाईंले आफ्नो धारणा प्रस्तुत गरेका थिए । शून्य समयमा नवोदिता चौधरीले बोलेकी थिइन् ।
































