ताप्लेजुङ/ जिल्ला अदालत ताप्लेजुङले सरकारी कागजात किर्ते सम्बन्धी ३८ थान मुद्धाको आईंतवार फैसला गरेको छ । कृषि विकास बैङ्क ताप्लेजुङ शाखामा तत्कालिन प्रमुख गणेश खतिवडा सहित २६ जनालाई कैद र जरिवाना सुनाएको हो ।

जिल्ला अदालत ताप्लेजुङको न्यायाधीष कृपासुर कार्कीको ईजलासले सरकारी कागजात किर्ते गरि जग्गा कारोवारमा संलग्न रहेको ठहरै गर्दै एक बर्ष कैद र विगोको २५ प्रतिशत जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमले बताए । अदालतले कृषि विकास बैङ्कका सहायक ललित राई र लेखनदास सुरेन्द्र तबेबुङलाई भने सफाई दिएको छ ।

श्रेष्तेदार गौतमका अनुसार २०७५ साल साउन ११ गते दर्ता भएको १८ थान तथा २०७५ कार्तिका ९ मा दर्ता भएको २० थान मुद्धामा बैकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र पदमकुमारी नुगोलाई मूख्य दोषी ठहर गरेको छ ।

पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य आरोपी हुन् । मुख्य आरोपी चार जनालाई जम्मा विगो २ करोड ४४ लाख ७५ हजारको २५ प्रतिशत र अन्यलाई आ-आफ्नो विगोको २५ प्रतिशत जरिवानाको फैसला गरेको हो ।

उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन् ।फुङलिङ नगरपालिका ८ सहितका विभिन्न ठाउँमा भिरको जग्गालाई कागजमा प्लटिङ बनाई उक्त जग्गा धरौटी राखेर कर्जा प्रवाह गरी बैंक ठगी प्रकरणमा तत्कालिन व्यवस्थापक गणेश खतिवडासहित २६ जना विरुद्ध ३८ वटा मुद्दा दायर गरिएको थियो ।