दमक । दमक नगरपालिका ३ की सीता तिम्सिना अहिले दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्यनरत छिन् । उनको परिवारमा कोही पनि व्यवसाय गर्र्दैनन् । बुबा जागिरे र आमा घरमै गृहणी तर उनलाई दमकमा एक सफल उद्यमी बन्ने मन छ । आफ्नो पढाइ सकेर व्यवसायमा लाग्ने योजना बनाएकी सीता फेसन डिजाइनमा रुचि राख्छिन् । उनी भन्छिन् – ‘ अब यही व्यवसाय गर्छु भन्ने तय गरिसकेको त छैन र परिवारमा पनि सल्लाह गर्छु । त्यसपछि के निर्णय हुन्छ सोहीअनुरुप व्यवसायको थालनी गर्छु ।’ परिवारको साथ र सहयोग बिना व्यवसाय सफल नहुने उनले यसअघि लिइएका विभिन्न तालिममार्फत् सिकिसकेकी छिन् । त्यसैले उनले व्यवसाय सञ्चालनमा परिवारको निर्णय नै अन्तिम निर्णय हुने बताइन् ।

सीता मात्र होइन, दमक २ स्थित हिमालय माविका लेखापाल दयासागर आचार्यले भर्खरै देखि बिजुलीका विभिन्न सामानहरूको व्यवसाय पनि गर्र्दै आएका छन् । उनी पनि यस क्षेत्रमा एक उदाहरणीय व्यवसयी बन्ने योजनामा रहेको बताउँछन् । ‘जागिर गरेर मात्र खासै आर्थिक प्रगति गर्न सकिएन, त्यसैले व्यवसायको क्षेत्रमा प्रवेश गरेँ ’ – आचार्यले भने ‘तर म यो क्षेत्रमा नयाँ हुँ । कसरी बजारमा आफ्नो प्रभाव जमाउने भन्ने ज्ञान कमै छ ।’ उनलाई व्यवसाय गर्दा फाईदा हुन्छ भन्ने चाहिँ छ । तर त्यसबाट अझ बढी प्रतिफल कसरी लिने र आफ्नो कारोबारलाई अझ कसरी सशक्त बनाउने भन्ने कुराको सूत्र थाहा छैन । त्यसैले उनी भन्छन् ‘ यस सम्बन्धी तालिम लिन अति नै आवश्यक छ ।

युवा उद्यमशीलताको क्षमता विकास गराउन दमक उद्योग वाणिज्य सङ्घले दमक जेसीज र दमक नगरपालिकासँग सहकार्य गरी एक दिने युवा उद्यमशीलता सम्बन्धीको तालिम दिएको थियो । तालिममा ६०जना सहभागी थिए । दमकका व्यवस्थापन सङ्कायमा अध्यनरत बिद्यार्थी र व्यवसयायी सहभागी भएको उक्त तालिममा व्यवसयामा लाग्नुका कारण र यसका बारेमा विशेष गरी नव आगान्तुक व्यवसायी र प्रवेश गर्न चाहने युवाले ध्यान पु¥याउनु पर्ने पक्षका विषयमा चर्चा गरिएको थियो ।

दमक उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले आफ्नो परिवारका सबै पुस्ता सरकारी जागिरे भएको र यसको परम्परा तोड्दै आफ्नो पुस्ता चाहिँ व्यवसायमा लागेको बताए । ‘घरमा बुबा सरकारीको जागिर, हरेक दिन कार्यालय जाने आउने, भनेको बेलामा बिदा पनि नमिल्ने , त्यसै भएर मैले चाहिँ बुबा र हजुरबुबाको त्यो पेशालाई छाडेर व्यवसायमा लागेको हुँ ’–गुरागाईंले गोष्ठीमा आफ्ना कुरा राख्ने क्रममा बताए ।

त्यसै गरी दमक उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य टीका प्रसार्इंले आफ्नो पविारको अघिल्लो पुस्ता सबै किसानमै सीमित भएको र त्यसबाट अलग हुन पनि आपूm ब्यवसायमा लागेको बताए । उनले त्यही कृषिलाई पनि व्यवसयीक रूपमा गर्न सकिने रहेछ भन्ने कुराको महसुस बढ्न थालेको बताए ।

यसरी विद्यार्थीलाई व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा, सिक्न र बुझ्न आवश्यक पर्र्ने विभिन्न अनुभव सुनाउन पनि गोष्ठीको आयोजना गरिएको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालले बताए । उनले युवाहरूमा उद्यमशीलताको विकास गराई अझ शशक्त युवा उद्यमी बनाउने लक्ष्य वाणिज्य सङ्घको रहेको समेत बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा रहेका युवाहरूलाई उद्यममा अग्रसर गराउन आगामी आर्थिक वर्षमा छुट्टै नीति तथा कार्यक्रम बनाएको बताएका छन् । यहाँ रहेका विभिन्न सङ्घ संस्था, निजी तथा सहकारी लगायतसँग सहकार्य गराएर युवालाई उद्यममा लगाइने उनले बताए । तालिम र गोष्ठी गर्दै उनीहरूको क्षमता विकास गराउनु नगरको दायित्व रहेको र यसले युवामा उद्यमी बन्ने इच्छा शक्तिको विकास हुने धारणा व्यक्त गरे । विपन्न तथा एकल महिलाका लागि मूल बिउ पुँजीको समेत व्यवस्था गरिने व्यवस्थासहितको नीति तथा कार्यक्रम बनाइएको उनको भनाइ छ ।