धरान । सुनसरीको बराहक्षेत्र–६ मा पर्ने श्रीलङ्का टप्पुमा चार दिनदेखि जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । हात्तीको आक्रमणबाट पाँच वर्षका बालकसहित एक महिला गम्भीर घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते हुनेहरूमा स्थानीय सञ्चमाया श्रेष्ठ र उनका पाँच वर्षीय छोरा रहेको वडा सदस्य श्यामवहादुर लिम्बूले बताए ।
श्रीलङ्का टप्पु कोशी टप्पु वन्य जन्तु आरक्ष नजिकै पर्छ । हात्तीले दर्जन घर भत्काएको भए पनि हालसम्म हात्ती खेदाउन र श्रीलङ्काबासीलाई सहयोग गर्न कोही पनि नआएको वडासदस्य लिम्बूले बताए । श्रीलङ्का टप्पुमा दुइटा जङ्गली हात्ती प्रवेश गरेको उनले बताए ।
हात्ती आक्रमणबाट घाइते आमाछोराको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडासदस्य लिम्बूका अनुसार हात्तीले रुद्रबहादुर श्रेष्ठ (क), दिनेश श्रेष्ठ, प्रमोद झा, उदय चन्द्रबंशी, रुद्र बहादुर श्रेष्ठलगायतको घर पनि भत्काएको छ । घरमा भएका धान, मकै, जौ, गहुँ, दालजस्ता अन्नबालीसमेत खाइदिएको र खेतबारीमा लगाएको बाली नष्ट बनाएको प्रमोद झाले बताए ।
वडा सदस्य श्याम लिम्बूले भने, ‘टप्पुमा हात्ती आक्रमण भए लगत्तै प्रहरी प्रशासनलाई सुरक्षा र उद्धारका लागि जानकारी दिएको थिएँ तर कोही आएका छैनन् । झरी पानीमा हामी कता जाने के गर्ने भनेर डराएर टप्पुमा बसेका छौँ ।’