विराटनगर ।  मोरङको रङ्गेली नगरपालिका ९ स्थित दोहमना बजारमा बुधबार दिउँसो चट्याङ लागेर सोही स्थान बस्ने वर्ष १४ का अभत र १६ वर्षका अनिल ऋषिदेवको मृत्यु भयो ।
गत बुधबार नै झापाको बाह्रदशी गाउँपालिका–५ का ६० वर्र्षीय पर्शुराम पाठकको पनि चट्याङले लागेर ज्यान गयो भने ५२ वर्षीय दुर्गाप्रसाद ओली गम्भीर घाइते भए ।

मङ्गलबार पनि रतुवामाई नगरपालिका ५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको चट्याङ लागेर मृत्यु भयो । रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक परेको चट्याङ लागेको थियो । उनको उपचारको क्रममा उर्लाबारीको अरनिको अस्पतालमा मृत्यु भएको थियो । १९ जेठमा पनि रङ्गेली नगरपालिका ९ का ५० वर्षीय देवलाल यादव भैँसी चराउन गएको बेला पानीसँगै आएको चट्याङले लागेर मृत्यु भएको थियो ।

तीन महिनाको अवधिमा मोरङमा मात्र विभिन्न ठाउँमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बर्खायाम शुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । मध्य बर्खाको समय असार साउन महिनामा पनि हिउँदमा जस्तै छिनछिनमा मौसम परिवर्तन हुने र त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको असार ११ गतेसम्म २० जनाको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्या मोरङमा धेरै रहेको छ । मोरङमा ६ जनाको मृत्यु भएको छ । यस्तै पाँचथरमा ५ जनाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा ३, इलाममा २, सुनसरीमा, खोटाङ्ग र धनकुटामा १÷१ जनाको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

कसरी बच्ने चट्याङबाट ?
विज्ञानशास्त्रका प्राध्यापक रामचन्द्र अधिकारीका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ । ‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक अधिकारी भन्छन् – ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो ।’ चट्याङबाट मृत्यु हुने घटना अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत भएका थिए भन्ने विवरण आउने गरेको छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ ।

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो । चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ । ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन, जसले गर्दा घर सुरक्षित हुन्छ । त्यसैले अर्थिङ गरेको घर सबैभन्दा सुरक्षित हुने गरेको उनले बताए ।