इनरुवा । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकार मुस्लिम समुदायको हक र अधिकारको सवालमा प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री घिमिरेले प्रदेश सरकारले कोही कसैलाई काखा र पाखा नगर्ने बताएका हुन् । समावेशी र समानुपातिक रूपमा योजनागत कार्य प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताएका हुन् ।
सुनसरी सदरमुकाम इनरुवामा हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवाले आयोजनामा गरेको छातवृत्ति वितरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै मुस्लिम महिलाहरूलाई आत्मनिर्भर तुल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा अपाङ्ग, अनाथ, दलित, विपन्न र गरिब समुदायका बालबालिकाहरूलाई छात्रवृतिका साथै पाठ्य सामग्री पनि वितरण गरिएको थियो । कार्यक्रमका सहभागीहरूले मुस्लिम समुदायका महिला र बालिकाहरूको शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै ट्रस्टका अध्यक्ष मौलाना हारुन खान नेतृत्वको शिक्षासेवी समुदायले पु¥याएको योगदानको कदर समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य पोष्टकुमार नेपाल, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, वेलफेयर ट्रष्टका अध्यक्ष मौलाना हारुन खानसहित ज्याउल रहमान, मानवअधिकारकर्मी रमेश भट्टराई, सञ्चारकर्मी राजेन्द्र पोखरेललगायतले बोलेका थिए । कतार च्यारिटीको सहयोगमा हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्टले मदरसा शिक्षा तथा विद्यालय शिक्षा आर्जन गर्ने अपाङ्गता भएका, अनाथ, असहायहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको ट्रष्टका सचिव हजरत हुसैनले बताए ।
































