झापा । झापा डेङ्गु रोगको उच्च जोखिममा रहेको छ । झापामा सन् २०१९ जुन २६ तारिखसम्म २६ जना डेङ्गुका बिरामी फेला परेको बिर्तामोडमा आयोजित अभिमुखीकरण कार्यक्रममा बताइएको छ ।
झापाको दमक, शिवसताक्षी, अर्जुनधारा, भद्रपुर र मेचीनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको इमिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा बुधबार आयोजित कार्यक्रममा बताइएको हो ।
बिर्तामोड नगरपालिकाको संयोजनमा भएको डेङ्गुज्वरो सम्बन्धी सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रममा डेङ्गुरोगबाट बच्ने उपायका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा सहजीकरण महाशाखाका उत्तम कोइराला र झापा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत जीवन चम्लागार्इँले गरेका थिए । २०१२ मा ७७, २०१३ मा २०२, २०१४ मा १३, २०१५ मा ८, २०१६ मा ४२०, २०१७ मा ५३५, र २०१८ मा १० जनालाई डेङ्गु रोग लागेको तथ्याङ्क सार्वजनिक गरेको छ । बढ्दो अव्यवस्थित शहरीकरण, यातायातको पहुँचमा वृद्धि, बढ्दो मानिसको आवतजावत तथा जमघट, नयाँ प्रविधिको वृद्धि र प्रयोगका कारण डेङ्गुरोगका बिरामी बढेको कार्यक्रममा जानकारी दिइयो ।
विषादी छर्कँदा डेङ्गुलाई केही पनि नहुने बताउँदै घर वरिपरि फालिएका टायर, बोतल, काम नलाग्ने भाँडाकुँडालगायतको व्यावस्थापन नै रोगबाट बच्ने उपाय भएको जानकारी दिइएको थियो । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यस्तो लामखुट्टेले दिउँसो मात्र टोक्ने र सफा पानीमा मात्र बस्ने गर्छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा प्रसार्इँ, बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गाल, वडा नं. १ का अध्यक्ष अग्नि पाण्डे, ४ का अध्यक्ष कुलप्रसाद सङ्ग्रौलालगायत जनप्रतिनिधिको सहभागिता थियो । यहाँ केही दिन अघि धरानमा डेङ्गुको महामारी फैलिएको विषयमा समेत चर्चा गरिएको थियो ।