दमक/ झापाको दक्षिणी क्षेत्रका गाउँघरमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । भुस्याहा कुकुरको सङ्ख्या वृद्धि भई गाउँघरमा पशुपंक्षीमा समेत क्षति पुर्याउन थालेपछि गाउँमा आतङ्क फैलिएको छ । हुल बाँधेर गाउँघर तथा सडकमा कुकुर हिँड्दा मानिसलाई समेत झम्टने गरेका छन् । गाउँघरमा भुस्याहा कुकुरको सङ्ख्या वृद्धि भई गाउँमा आतङ्क फैलाउँदा समेत नियमनकारी निकाय भने मौन छ । स्थानीय सरकारले समेत खासै चासो देखाएको पाइँदैन ।

गाउँघरमा पालिएका कुखुरा, खसी, बाख्रा, गाईका बाच्छाहरू कुकुरले मार्ने गरेको छ । गाउँलेहरूले चरनका लागि खेतमा बाँधेका चौपाया दिउँसो पानी खुवाउन जाँदा मरेको वा घाइते अवस्थामा भेटेका छन् । गौरादह–२ र ३ निवासी गोपीनाथ तिम्सिना र ज्ञानु कार्कीको फार्ममा पालिएका बोइलर जातका कुखुरालाई ठूलो मात्रामा कुकुरले मारेर क्षति पुर्याएको छ ।

बिहीबार राति गौरादह–३ का ज्ञानु कार्कीको कुखुराको फार्मबाट १ सय १० वटा कुखुरा कुकुरले मारेको छ । कार्कीले फार्ममा ३ सय वटा कुखुरा लगाएका थिए । बिक्री गर्ने समय भएपछि कुकुर फार्ममै पसेर कुखुरा मार्दा ठूलो मात्रामा नोक्सानी भएको कार्की बताउँछन् । फार्मको ढोका लगाएको तर पूर्वपट्टिबाट बाँसका भाटा निकालेर कुकुर फार्मभित्र पसेको कार्कीले बताए । केही दिनअगाडि १ सय ५० कुखुरा बिक्री गर्दा प्रत्येक कुखुरा २ केजी ३ सय ग्राम तौलका थिए ।

कुखुराहरू नष्ट हुँदा करिब ७० हजार मूल्य बराबरको नोक्सानी भएको कार्कीले बताए । किसानहरूलाई कतैबाट पनि राहत नमिलेको र जहिले पनि किसानको हात तल पर्ने गरेको स्थानीय आशिष कार्की बताउँछन् । भुस्याहा कुकुर नियन्त्रण गर्न स्थानीय सरकार सक्षम नभएको पीडित कार्कीले बताए ।

गाउँघरमा भुस्याहा कुकुरबाट आतङ्क फैलिरहँदा स्थानीय सरकार मुकदर्शक बनेको स्थानीय बताउँछन् । यसैगरी दुई दिनअगाडि गौरादह–२ का गोपीनाथ तिम्सिनाको पनि एकै रातमा २ सय वटा कुखुरा मारेको छ । भुस्याहा कुकुरको कारण उनको करिब १ लाख बराबरको क्षति भएको छ ।

गाउँघरमा पालिएका पशुपंक्षी, कुखुरालगायत अन्य चौपायाहरूलाई जोगाउन भुस्याहा कुकुरलाई पूर्णरूपमा नियन्त्रण गर्न आवश्यक भएको स्थानीयको भनाइ छ । यसरी नै कुकुरको सङ्ख्या वृद्धि हुँदै गएमा मानिसलाई समेत सडकमा हिँडडुल गर्न समस्या हुने भएकोले कुकुर नियन्त्रण गर्नुपर्ने स्थानीय बताउँछन् ।