धरान । लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालयले साताव्यापी कार्यक्रम बिहीबारदेखि शुरु गरेको छ ।
सुनसरीको सदरमुकाम इनरुवामा विभिन्न सामाजिक सङ्घसंस्था, स्थानीय तह, विद्यालयहरूको सहकार्यमा कार्यक्रम गरेको हो । जिल्लामा ११ गतेसम्म विविध कार्यक्रम गरी ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको हो । सुनसरी लागूऔषध प्रयोग तथा ओसारपसारको हिसाबले दोस्रो नम्बरमा आउँछ भने प्रदेश १ को पहिलो जिल्लाको रूपमा रहेको छ । प्रहरीले दुव्र्यसनीविरुद्धको अभियान (फान) शुरु गरेको हो । प्रमुख जिल्ला अधिकार प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा बसेको बैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अभियानको पहिलो दिन इनरुवामा क्षेत्रमा चेतनामूलक प्लेकार्ड र व्यानरसहित प्रभातफेरी कार्यक्रम गरिएको छ । जसमा प्रजिअ उप्रेतीसहित जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल, इनरुवाका नगर प्रमुख राजन मेहतालगायतको उपस्थितमा प्रभातफेरी कार्यक्रम निकालिएको हो । अभियान अन्तर्गत शुक्रबार धरानस्थित पुनःस्थापना केन्द्रमा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको सरिता कार्की घिमिरेले जानकारी दिइन् । शनिबार इटहरीचौक चेतनामूलक सडक नाटक गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
































