धरान/ धरानमा फैलिएको डेङ्गुको सङ्क्रमण नियन्त्रणउन्मुख भएको चिकित्सकहरूले बताएका छन् ।

डेङ्गु सङ्क्रमणपछि बिरामी भएकामध्ये ६ सय ४९ जनाको उपचारपछि डिस्चार्ज भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पताल सहायक निर्देशक डा. विकास साहका अनुसार पछिल्लो समयमा उपचारका लागि आएका बाँकीको ट्रपिकल वार्डमा उपचार भइरहेको छ ।

उनका अनुसार जेठ महिनामा १ हजार ५ सय २८ जनाको रगत परीक्षण गर्दा ६ सय ३१ जनामा डेङ्गु देखिएको थियो । असार १ र २ गते ३५ जना गरी सङ्क्रमितको सङ्ख्या ६ सय ६६ जना पुगेको छ ।

धरानको डेङ्गु नियन्त्रणका लागि गठित ¥यापिड रेस्पोन्स टिमका संयोजक तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा. विजयकुमार खनालले धरानमा फैलिएको डेङ्गु प्रकोप नियन्त्रणउन्मुख भइरहेको बताए । उनले भने, ‘पछिल्लो एकसाता यता सर्च एण्ड डेस्ट्रोय अभियान तीव्र बनाएसँगै नियन्त्रणउन्मुख हुन थालेको र सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको हो तर अभियानलाई बीचैमा छाडे बढ्न सक्छ । यो अभियानलाई एकसातासम्म निरन्तरता दिनुपर्छ ।’

झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा डेङ्गु रोगको प्रकोप फैलिएको मौका छोपेर विभिन्न निजी अस्पतालहरूले डेङ्गु टेष्ट गर्दा ३ हजार ६ सय रुपैयाँसम्म लिएको तथ्य सार्वजनिक भएको छ । अत्यधिक महँगो शुल्क लिने स्वास्थ्य संस्थाहरूलाई सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादवले कारबाहीको दायरामा ल्याउन सुनसरीका सिडिओ प्रेमप्रकाश उप्रेती र प्रदेश स्वास्थ्य निर्देशनालय भोगेन्द्र डोटेललाई निर्देशन दिएका छन् । मन्त्री यादव धरानमा डेङ्गुको बारेमा बुझ्न आएका बेला डेङ्गु टेष्ट किटको शुल्क महँगो बनाएको गुनासो सर्वसाधारणले गरेका थिए ।

प्रदेश १ का स्वास्थ्य निर्देशक डोटेलले डेङ्गु किटलाई बढीमा ५ सय रुपैयाँ पर्ने र किटमा २० प्रतिशतसम्म नाफा राखेर टेष्टको शुल्क लिन पाउने बताए । उनले बढी शुल्क लिनेलाई कारबाहीको दायरामा ल्याउने बताए । निजी अस्पताल, मेडिकल हलहरूले १ हजार ८ सय रुपैयाँदेखि २ हजार ४ सय रुपैयाँसम्म शुल्क असुल गरिरहेका छन् ।

यसैबीच उपमहानगरपालिकाका कार्यकारी प्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र र नगर प्रहरीसहितको टोलीले सडक किनारा र ग्यारेज आसपास जताततै राखिएका टायर जफत गरेको छ । सोमबारसम्ममा तीन ट्याक्टर टायर जफत गरेको शाखा प्रमुख रामबाबु यादवले बताए ।