बिर्तामोड/ झापाको बिर्तामोडका विभिन्न होटलमा अनुगमनका क्रममा यौन व्यवसायमा संलग्न ५ जना किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा तीन जनालाई पक्राउसमेत गरेको छ । आइतबार बिर्तामोड–५ मा सञ्चालित मनिका होटलबाट इलामको धोविधारा बस्ने १७ वर्षीया किशोरीलाई उद्धार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बताए ।

होटल व्यवस्थापनको जिम्मा लिएका इलाम दानाबारी कालीखोलाका नवीन विकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । होटल सञ्चालक निश्चल विश्वकर्मा भने फरार रहेका छन् । विश्वकर्माको खोजीकार्य जारी रहेको थापाले बताए ।

यसअघि बिर्तामोडकै मनशान्त होटल र प्रतिक्षा होटलबाट प्रहरीले चारजना किशोरीको उद्धार गरेको थियो । प्रतिक्षा होटलका व्यवस्थापक अभिषेक तामाङ र मनशान्त होटलका सञ्चालक किरण तामाङ पक्राउ परिसकेका छन् ।

इलाम र उदयपुरको गाईघाट निवासी तीन किशोरीलाई लामो समयदेखि यौनजन्य कार्यमा प्रयोग गराउँदै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रतिक्षा होटल सञ्चालक विमल गहतराज फरार छन् । पक्राउ पर्ने मनशान्त होटल सञ्चालक तामाङ होटल व्यवसायी सङ्घ झापाका पूर्व सचिव हुन् ।

तामाङ हाल बिर्तामोडमा बसोबास गर्दै आएका छन् । प्रतिक्षा होटलका व्यवस्थापक तामाङ सुनसरीको इटहरी घर भई बिर्तामोडमा व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ । त्यस्तै झापा होटलका सञ्चालक रामकृष्ण कडरियामाथि २३ वर्षीया युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराई आर्थिक शोषण गरेको आरोप छ ।

कडरिया फरार रहेको र खोजीकार्य भइरहेको डिएसपी थापाले बताए । पक्राउ परेका तीनै जनालाई बालबालिका विरुद्धको कसूरमा मुद्दा चलाइने थापाले जानकारी दिए । सोही कसूर अन्तर्गत पक्राउ परेकालाई कारबाही गरिने उनले बताए । उद्धार गरिएका किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको छ ।