विराटनगर । डिप्रेसनमा गएका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूले स्वास्थ्यकर्मीको परामर्श र नियमित उपचारपछि सामान्य अवस्थामा फर्किन सक्ने चिकित्सकले बताएका छन् ।
विराटनगरमा शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग १ नम्बर प्रदेश कार्यालय विराटनगरले प्रदेशमा मानसिक स्वास्थ्यको अवस्था, प्रदेश तथा स्थानीय सरकारको प्रयास र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै चिकित्सकहरूले यस्तो बताएका हुन्

उनीहरूले मानसिक समस्याका बिरामीले मनोविमर्शसँगै नियमित औषधि सेवन गरे रोग ठीक हुने बताए । मनोचिकित्सक डा. रोशन पोखरेलले मानसिक समस्याको समयमै निदान र उपचार हुन सके मानसिक समस्या निको हुने बताए । ‘यो अन्य रोग जस्तै हो,’ डा. पोखरेलले भने, ‘डिप्रेसन भएका बिरामीले अन्य रोगजस्तै मानेर नियमित रूपमा औषधि सेवनले ठीक हुनेछ ।’ डिप्रेसनको बिरामी बढ्दै गएको भन्दै उनले ५० देखि ६० जना मान्छेमा एक जनालाई डिप्रेसन भएको व्यक्ति भेटिने गरेको उनले जानकारी दिए । द्वन्द्व, गरिबी, काममा असफलता, पारिवारिक बिछोड, प्रेममा असफलताजस्ता कारणले डिप्रेसन, साइकोसिस् तथा मानसिक सन्तुलन गुमाउने अवस्थामा समेत पुग्ने गरेका थुप्रै घटनाहरू आफूले भेटेको उनले बताए । ‘सबै मानसिक समस्या रोग होइन, मनमा लाग्ने डर, चिन्ता रोग होइन । यस्ता समस्याका व्यक्तिलाई उचित परामर्श र उपचारसँगै परिवारको राम्रो वातावरण र माया दिनसके निको हुन्छ,’ उनले भने ।
उनले मानसिक समस्याको कारण खोजी गरी यसको निराकरण गर्न नसके केही वर्षभित्रै मानसिक समस्या ठूलो चुनौतीका रूपमा देखा पर्ने भन्दै स्थानीयस्तरबाटै मानसिक स्वास्थ्यको बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

अर्का मनोचिकित्सक डा. अर्चना पोखरेल (रिमाल) ले बालबालिकाहरूमा ‘अकजम’ सबैभन्दा बढी भेटिन थालेको बताइन् । ६० जना बालबालिकामा १ जनामा ‘अकजम’ को बिरामी भेटिन थालेको उनले जानकारी दिइन् । प्रदेश सरकारले बेलैमा सचेतना कार्यक्रम फैलाउन जरुरी रहेको सुझाव दिइन् । ‘घर परिवारमा उनका बुवाआमा सधैं झगडा गर्छन् भने पनि परिवारका बालबालिकामा अकजम देखिन्छ,’ उनले भनिन्, ‘यस्तै स्कुलमा शिक्षकहरूले धेरै हप्काउने पिट्ने तथा अनावश्यक रूपमा जिस्काउने गर्नाले पनि बच्चामा डिप्रेसन देखिन्छ ।’
कार्यक्रममा प्रदेश–१ का मुख्य सचिव सुरेश अधिकारीले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य प्रदानमा लागिपरेको बताए । कार्यक्रममा इन्सेक १ नम्बर प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले मानसिक समस्या भएका बिरामीलाई पीडा दिने काम नगरेर उनीहरू उपचारको खोजी गरिनुपर्नेमा जोड दिए । उनले मानसिक समस्या भएका बिरामीहरूका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्नु पर्ने बताए ।