विराटनगर । खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरूले चौपाया चोरी गरेर भारतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।
करिब ३ लाख ५० हजार मूल्य पर्ने तीनवटा भैंसी र २ पाडासहित चोरीमा संलग्न एकजना तस्करलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । तस्करहरूले पूर्वको छोटी नाका प्रयोग गर्दै भारततर्फ चौपायाहरू तस्करी गर्ने गरेका छन् ।
प्रहरीले केही दिनअगाडि भारततर्फ लाँदै गरेका चौपायासहित चोरीमा संलग्न मोरङ जहदा गाउँपालिका–१ का २४ वर्षीय सङ्ग्रित यादवलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको भंैसी र पाडा प्रहरीलाई छल्दै छोटी नाका हुँदैै भारतर्फ लैजाँदै गर्दा जहदा–१ सिङ्गिया खोलानजिकबाट इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘भैंसी र पाडा भारततर्फ लाँदै गरेको चेकजाँचमा खटिएको टोलीले देख्यो’ डिएसपी श्रेष्ठले भने, ‘शङ्का लागेर सोधपुछ गर्दै जाँदा चोरी गरेर भारतर्फ लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।’
चोरी गरी भारततर्फ लैजान लागेका भैंसीहरू मोरङ कटहरी गा.पा.–७ थलाहाका दीपक कार्की र विनोद कार्कीको रहेको डिएसपी श्रेष्ठले बताए । गोठमा बाँधिएका भैंसी उनीहरूले हराएको भन्दै जेठ २५ दिने उनीहरूले प्रहरी चौकी थलाहालाई जानकारी गराएका थिए । गोठमा बाँधेका भैंसीहरू किन्ने बहानामा चोरी गर्ने यादव केही दिनअघि उक्त स्थानमा पुगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कारबाही भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरूले मोरङ र सुनसरीका विभिन्न पशुहाट बजारमा चौपाया खरिद गरेर जहदा गाउँपालिकाको मझारे, तरिगमा, पोखरीया नाकाबाट भारतर्फ तस्करी गर्ने गरेका छन् । त्यस्तै धनपालधान गापाको अमहिवर्याती, मायागञ्ज तथा रङ्गेली नपाको चोपरहा, आमगाछी र सुनवर्षी नपाको डाइनिया, सिक्टी नाकाबाट चौपाया तस्करी हुने गरेको छ । यी नाकाबाट सबैभन्दा बढी गाई र गोरू तस्करी हुने गरेको छ ।
नेपालमा गोरू काट्न प्रतिबन्ध लगाएकोले तस्करहरूले यहाँ सस्तोमा खरिद गरेर भारत पु¥याउँदा महँगो मूल्यमा बिक्री गर्ने गरेको जानकारहरू बताउँछन् । स्रोतको अनुसार राति र बिहानीपख नेपालबाट भारततिर तस्करी हुने गरेको छ ।