विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६ का ३६ वर्षीय श्रवण मलहा ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा चार महिनाअगाडि पक्राउ परेका थिए ।
अनुसन्धानको क्रममा २७ दिन प्रहरी हिरासतमा बसेपछि मोरङ प्रहरीले श्रवणलाई अदालतमा उपस्थित गरायो । थुनछेक बहसपछि जिल्ला अदालत मोरङले श्रवणलाई २ लाख धरौटीमा छोड्न आदेश दियो । गत पुस २६ गते ठगी गरेको आरोपमा पक्राउ परेका श्रवणलाई माघ २२ गते मोरङ अदालतले २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अदालतले तोकेको सो धरौटी रकम बुझाएपछि श्रवण छुटे ।
एक पटक आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका व्यक्ति छुटेर गएपछि गाउँ, समाजले सुध्रिन्छ भन्ने अनुमान राख्छन् । तर, श्रवणको हकमा भने यस्तो लागू भएन । ठगी आरोपमा पक्राउ परेका श्रवण धरौटीमा छुटेको चार महिना पुग्न नपाउँदै पुनः पुरानै ठगी धन्दामा संलग्न भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले श्रवणसहित ठगी धन्दामा संलग्न उनका साथी विराटनगर– ११ का २३ वर्षीय निरज मरिकलाई पनि पक्राउ गरेको हो । उनीहरूले इमोको सहायतामा २५ लाख रुपैयाँ चिठ्ठा पर्यो भन्दै १ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । श्रवणलाई उनकै घरबाट बिहीबार बिहान र मरिकलाई बुधबार साँझ विराटनगरस्थित हाटखोलाबाट पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘एक पटक ठगी गरेको आरोपमा पक्राउ परेका श्रवण पुनः पक्राउ परेका छन्’ डिएसपी श्रेष्ठले भने, ‘प्रारम्भिक चरणको अनुसन्धानबाट एक जनाबाट ठगी गरेको हाम्रो कार्यालयमा उजुरी आएको छ ।’ अनुसन्धानको प्रक्रियामा रहेकोले यो समूहबाट कति ठगिएको पछि खुल्ने उनले बताए ।
‘उनीहरूले इलामको माई नगरपालिका–८ का पासाङ शेर्पालाई इमोमार्फत् मोबाइलमा म्यासेज पठाई २५ लाख रुपैयाँ चिट्ठा परेको छ । उक्त रकम निकाल्न करबापत ४५ हजार रुपैयाँ लाग्छ । सो रकम ग्लोबल आईएमई बैङ्कको खातामा पठाइदिनू भनेका रहेछन्’ डिएसपी श्रेष्ठले भने, ‘ठगिएका पीडित शेर्पाले पनि सहजरूपमा रकम पठाइदिए । त्यसपछि चिठ्ठा प¥यो भन्दै म्यासेज गर्ने व्यक्ति सम्पर्कविहीन भएछन् ।’
दुई पटक गरी पक्राउ परेका समूहले १ लाख २० हजार ठगी गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ । प्रहरीले भाइबर र इमोमार्फत् चिठ्ठा परेको गलत प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सजग हुन सबैमा आग्रह पनि गरेको छ । पीडितले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न व्यक्तिका नागरिकता तथा व्यक्तिगत परिचय–पत्रका प्रतिलिपिहरूसमेत बरामद गरेको छ । पक्राउ परेका दुवैलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्दै आएको डिएपी श्रेष्ठले बताए ।