इटहरी/ गर्मीयाम बढेसँगै विद्युत् ‘अपडाउन’ हुँदा सर्वसाधारणले हैरानी बेहोर्नु परेको छ । लाइन (बत्ती) जाँदै–आउँदै गर्दा सर्वसाधारण समस्यामा परेका छन् ।

तरहरा क्षेत्रमा पङ्खा चल्न पनि निकै गाह्रो हुन्छ । अपडाउनको समस्या सबैभन्दा बढी तरहरा क्षेत्रका उद्योगले झेल्नु परेको छ । सोमबार रातभर लाइन जाँदासमेत प्राधिकरणले वास्ता नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । एकदमै कम भोल्टेज आउने र पटक–पटक अपडाउनको समस्याले गर्मीमा सबैभन्दा समस्या हुने गरेको इटहरी–१९ की सविता राई बताउँछिन् ।

उनी भन्छिन्, ‘बेला–बेला लाइन भए पनि बत्तीसम्म बल्न गाह्रो हुन्छ ।’ लाइन जाँदै आउने गरेको भन्दै केही दिनदेखि समस्या बढे पनि विद्युत प्राधिकरण इटहरीले वास्ता नगरेको उनको आरोप थियो । इटहरी–२० तरहरामा दोभान कम्युनिकेशन सञ्चालन गर्दै आएका मदन बस्नेत भन्छन्, ‘तरहरामा भोल्टेज छैन, लाइन पनि बेला–बेला जाने र आउने गर्दा व्यवसायीलाई समस्या परेको छ ।’

भोल्टेज अपडाउन हुँदा विद्युत् खपत बढ्ने र महसुलसमेत बढी आउने गरेको बस्नेतको भनाइ छ । ‘विगतमा २ हजार मासिक महसुल आउँथ्यो, ओभरलोडका कारण भोल्टेज तलमाथि हुँदा हाल मासिक ४ हजार रुपैयाँभन्दा बढी महसुल आउने गरेको छ ।’ बस्नेत भन्छन् । विगतका वर्षहरूमा जस्तो विद्युत् आपूर्तिमा समस्या देखिएको छैन । तर लाइन आउने–जाने समस्या भने बढिरहेको इटहरी–२० का वडाअध्यक्ष मणिराम श्रेष्ठ बताउँछन् ।

विद्युत प्राधिकरण इटहरीका प्रमुख मिथिलेशकुमार गोहिबारले भने दिनमा ५ देखि ६ चोटि लाइन दुहबी ग्रेडमै काटिँदै आएको बताउँछन् । पछिल्लो केही दिन यता सामान्य समस्या आए पनि यसको हल गर्न आफू लागेको गोहिबारको भनाइ छ । ‘प्राधिकरणमै समस्या छ, यसबारे हामी गम्भीर छौं ।’ गोहिबारले भने ।

विद्युत् प्राधिकरण इटहरीको चरम लापरवाही
विद्युत्को समस्या बढ्दै गए पनि इटहरीको विद्युत् प्राधिकरण हेलचेक्राइँ गरिरहेको स्थानीयको आरोप छ । समस्या राख्न खोज्दा प्राधिकरणको फोन सधैं व्यस्त हुने सर्वसाधारण बताउँछन् । प्राधिकरणको ०२५–५८०११२ नम्बरको फोन जति लगाए पनि रिसिभ नहुने गरेको सर्वसाधारण बताउँछन् ।

विद्युत् प्राधिकरणले ‘नो लाइट’ को जानकारी दिन व्यवस्था गरेको टेलिफोन लाइन अधिकांश समय व्यस्त नै हुन्छ । जसका कारण सर्वसाधारणले विद्युत् कतिखेर आउँछ भन्ने जानकारी पाउन सकिरहेका छैनन् । गर्मीले आहत बनाइरहेका बेला छिनछिनमा विद्युत् जाँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ । बत्ति जाने बित्तिकै प्राधिकरणका कर्मचारीले ‘फोन होल्ड’ मा राख्ने गरेको सर्वसाधारणको आरोप छ ।