पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा यस वर्ष पनि एकजनामा डेङ्गु रोग फेला परेको छ ।

डेङ्गु रोगको महामारी बढ्ने सम्भावना रहेको नगरक्षेत्रमा डेङ्गु नियन्त्रणका लागि नगरको दैवीप्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड रेस्पोन्स टिमले अनुगमन कार्य अघि बढाएको छ ।

नगरप्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, रेस्पोन्स टिमका संयोजक एवम् स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको टोलीले सोमबार पथरीशनिश्चरे–४ को शान्ति चोकका डेङ्गुबाट प्रभावित परिवारलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । डेङ्गु प्रभावितको उपचार विराटनगरस्थित नोवेल अस्पतालमा भइरहेको छ ।

टोलीले शान्ति चोकक्षेत्रको सरसफाइको अवस्थाका बारेमा अवलोकन गर्दै सफा पानी जम्ने ठाउँबाट पानी नष्ट गर्न तथा टायर, बट्टाहरूमा पानी जमेको भए पनि नष्ट गर्न सचेत गराएको छ ।

टोलीले मङ्गलबार जिल्ला स्वास्थ्य कार्यालय विराटनगर, नगरका सरोकारवाला सङ्घ–संस्थासहितको सहभागितामा वडानम्बर १ को पथरी बजारक्षेत्रमा अनुगमन गर्ने भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।

अत्यन्तै घना बस्ती रहेको पथरी बजारक्षेत्रमा टायर, बट्टासहित सफा पानी जम्ने ठाउँहरू प्रशस्त रहेकाले लगातार डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । त्यस्ता ठाउँहरू सरसफाइ गर्ने कुरामा स्थानीय स्वयम्को भने खासै सक्रियता देखिएको छैन । लगाताररूपमा ग्यारेजहरूमा रहेका पुराना टायरमा डेङ्गुको लार्भा भेटिए पनि टायर हटाउने कुरामा ग्यारेजवालाहरूले अटेर गरिरहेको देखिन्छ ।

जमेको सफा पानीमा बस्ने र साँझपख सक्रिय हुने एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुले नगरमा गतवर्ष २ जना र त्यसभन्दा अघिल्लो वर्ष पनि २ जना बिरामी परेका थिए ।