धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ६ अन्तर्गत रहेका २२ वटा टोलबस्ती सङ्गठनहरूले आ.व.०७६-७७ मा सञ्चालन गरिने समाजिक तथा भौतिक पूर्वाधारका विविध योजनाहरू छनौट गरेका छन् ।

वडा नं. ६ को वडा कार्यालयको आयोजनामा सम्पन्न बस्तीस्तरको योजना छनौट कार्यक्रममा टोलबासीका प्रमुख एवम् प्रतिनिधिहरूले वडाका जनप्रतिनिधिहरूलाई कुनै टोललाई काखा, कुनै टोललाई पाखा नगरी समानुपातिक र समवेशी ढङ्गले बजेट तथा कार्यक्रम विनियोजन गर्न माग गरेका छन् । आ.व. ०७५-७६ मा कुनै टोलमा लाखौंको योजना सञ्चालन गरियो भने कुनै टोलमा १ रुपैयाँ पनि विनियोजन नगरिएकोप्रति उनीहरूले खुलेरै वडापालिकाका जनप्रतिनिधिहरूसँग गुनासो गरे ।

सो अवसरमा बोल्दै धनकुटा नगरपालिका वडा नं. ६ अन्तर्गतका सिरानबजार टोलबस्ती सङ्गठनका प्रतिनिधि पुरेन्द्रलाल श्रेष्ठले आफ्नो टोलमा रहेको गणेश मन्दिर जीर्णोद्धारको लागि अघिल्लो आर्थिक वर्षमै बजेट माग गरेको भए पनि १ रुपैयाँ विनियोजन नगरिएको गुनासो गरे । उनले जनप्रतिनिधिहरूलाई वडाभित्र रहेका पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेका मठ, मन्दिरको जीर्णोद्धारका लागि बजेट विनियोजन गर्न आग्रह गरे ।

त्यसैगरी अर्का टोलबस्ती सङ्गठनका अध्यक्ष भेषराज कट्टेलले जिल्ला सदरमुकाम कै सबैभन्दा पुरानो मन्दिर दक्षिणकाली मन्दिरसम्म जाने करिब ३ सय ५० मिटर लामो सिँढी निर्माणको लागि बजेट पारि दिन आग्रह गरे । उनले दक्षिणकाली मन्दिर वि.संं. १८७४ ताका स्थापना भएको र चालू आर्थिक वर्षमा १ रुपैयाँ पनि विनियोजन नगरिएकाले आगामी वर्ष कम्तिमा ५ लाख रुपैयाँ विनियोजन गरिदिन वडासदस्य एवम् योजना छनौट कार्यक्रमका संयोजक मिलन नेवाः खड्गीलाई आग्रह गरे । साथै, उनले फोक्ल्याण्ड टापु साकार स्कुल जोड्ने बाटो निर्माण र वडा नं.६ का २२ वटा टोलबस्तीहरूलाई समेट्ने गरी आधारभूत पत्रकारिता तालिम सञ्चालनका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

त्यसैगरी नाशलचोक टोलबस्ती सङ्गठनका सचिव अर्जुन पौडेलले नाशलचोक सडकको स्तरोन्नति, नाशलचोकदेखि ल्याण्डफिल्ड साइडसम्मको सडकको नाली विस्तार र फोहोर व्यवस्थापन भनेजस्तो नभएको गुनासो गरे । सरस्वती टोलबस्ती सङ्गठनका सदस्य शशिकला पौडेलले सरस्वती चोकदेखि भृकुटी छात्रावाससम्म सिँढी निर्माण गर्न र सरस्वती चोकदेखि डा.कुवासम्म मोटरबाटो ढलानको लागि बजेट विनियोजन गर्न माग गरेकी छन् ।

गोकुण्डेश्वर माध्यमिक विद्यालयमा गठित समुन्त बालक्लबकी अध्यक्ष रविना कार्कीले बालअधिकारसम्बन्धी सचेतना कार्यक्रम, भाषा, साहित्य कार्यक्रम, बालनेतृत्व तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न २ लाख ७५ हजार बराबरको बजेट विनियोजन गर्न प्रस्ताव गरेकी छन् ।

त्यसैगरी ज्येष्ठ नागरिक सङ्घ वडा नं.६ का सचिव पिताम्वर शाक्यले ज्येष्ठ नागरिकहरूलाई दिवासेवा कार्यक्रम, तीर्थयात्रा, ज्येष्ठनागरिक अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन् । उनले ज्येष्ठ नागरिकलाई पहिले–पहिले प्रतिशतका आधारमा बजेट नियमित आउँथ्यो तर जनप्रतिनिधि आएपछि १ रुपयाँ पनि जेष्ठ नागरिकहरूको लागि विनियोजन नभएको भन्दै गुनासो गरे ।

भीमसेन टोलबस्ती सङ्गठनका सचिव जीवन श्रेष्ठले बीच बजारमा रहेको शिवपार्क अगाडि कालोपत्रे गर्नुपर्ने, गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पूर्वप्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको लागि अत्याधुनिक पठन–पाठनको लागि एलइडी कम्प्युटरलगायतका सामग्री खरिद गर्न बजेट विनियोजन गर्नुपर्ने, सेल्फी चौतारको वरको बोट काटिए पनि व्यवस्थापन नगरिएको भन्दै वडाको ध्यान आकर्षण गराएका छन् ।

टोलबस्तीस्तरीय योजना छनौट समितिका योजक एवम् वडा नं.६ का वडासदस्य मिलन नेवाः खड्गीको अध्यक्षतामा सम्पन्न योजना छनौट कार्यक्रममा वडा सदस्यहरू हीरादेवी राई, मुना रम्तेल, वडासचिव सञ्जीव श्रेष्ठ, गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।