उदयपुर/ दुर्गम गाउँका जनतालाई सेवा दिने हेतुले उदयपुरको एक गाउँपालिकाले दुई वडालाई एम्बुलेन्स प्रदान गरेको छ ।
ग्रामीणभेगका मानिसहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै रौतामाई गाउँपालिकाले ४ र ५ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेको हो ।
भौगोलिक विकटताले गर्दा स्थानीय जनताहरूले उपचार गराउन नपाई अकालमा ज्यान जाने भएकोले यस्ता भैपरि आउने समस्याको समाधान गर्ने उद्देश्यका साथ एम्बुलेन्स प्रदान गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
बच्चा जन्माउने, रुख, भीरबाट लडेर हुने बिरामीलगायतका आपतकालीन बिरामीहरूलाई छिटो–छरितो ढङ्गले समयमै उपचार गराई ज्यान जाने जोखिमबाट बचाउनका लागि एम्बुलेन्स उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।
पालिकाले यसअघि नै एउटा एम्बुलेन्स किनेको छ । दुईवटा वडालाई दिएपछि पालिकामा तीनवटा एम्बुलेन्स सञ्चालनमा आएको अध्यक्ष खड्काले बताए । उनले भने, ‘अब प्रदेश सरकारको सहयोगमा एउटा एम्बुलेन्स थपिँदै छ । त्यसपछि पालिकामा ४ वटा एम्बुलेन्स हुनेछन् ।’ ६ र ८ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसमेत सञ्चालनमा आएकाले केही उपचार यहीँ पनि हुने भएकाले एम्बुलेन्स सञ्चालनसँगै पूर्णरूपमा पालिकाका जनतालाई सेवा दिन सकिने उनले बताए ।
जनताको स्वास्थ्यमा सुधार ल्याउन र भौपरी आउँदा छिटो–छरितो ढङ्गले सेवा प्रदान गर्नका लागि एम्बुलेन्सको आवश्यकता थियो । त्यस कुरालाई विशेष ध्यानमा राखी पालिकाको करिब २० लाख बजेटमा एम्बुलेन्स खरिद गरिएको अध्यक्ष खड्काले बताए ।
वडाको पहलमा पालिकाले एम्बुलेन्स प्रदान गरेको हो । पालिकाको ५ नम्बर वडाको आँपटार स्वास्थ्य चौकी र ४ नम्बर वडाको मालबासे स्वास्थ्य चौकीको लागि एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ ।
आफूहरूको पहलमा पालिकाले एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय जनताको भैपरी आउने बिरामीलाई राहत पुग्ने रौमाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । जिल्लाबाट एम्बुलेन्स बोलाउँदा खर्च बढी र समय धेरै लाग्ने भएकाले वडामै भएपछि वडाबासीलाई सहज भएको अध्यक्ष राईले बताए ।
गाईघाटबाट वडा पुग्न हिउँदमा करिब ३ घण्टा र वर्षामा ४ घण्टा लाग्ने गर्दछ । जिल्लाबाट मगाएको एम्बुलेन्सले करिब १० हजार भाडा लिने गरको छ भने वडाको एम्बुलेन्सले सहुलियत भाडा दरमा बिरामीलाई अस्पतालसम्म पुर्याउने अध्यक्ष राईले बताए ।
हिजोका दिनमा उपचार नपाएर स्थानीय जनताहरू मर्ने समस्या अब हटेको छ । बर्सेनी करिब २–३ जनाको उपचार नपाएर ज्यान जाने गरेको अध्यक्ष राईले बताए । सदरमुकाम गाईघाटबाट एम्बुलेन्स मगायो एम्बुलेन्स आई नपुगी नै बिरामीको ज्यान गइसक्ने गरेको उनले बताए ।
शुरुवाती समयमा केही सहुलियत दरमा भाडा लिए पनि आर्थिक सुधार भएपछि वृद्ध र सुत्केरी बिरामीहरूलाई निःशुल्क सेवा दिने लक्ष्य रहेको अध्यक्ष राईले बताए । अहिले पनि बिरामीको अवस्था र पारिवारिक अवस्था हेरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने उनले बताए ।
एम्बुलेन्सले वडामा मात्रै नभई पालिकाका अन्य वडाहरू र छिमेकी पालिका तथा छिमेकी जिल्लाका केही भू–भागका जनतालाई समेत सेवा दिने अध्यक्ष राईले बताए । एम्बुलेन्स खाली रहेको बेला सिमाना जोडिएका खोटाङ जिल्लाको बराहा गाउँपालिका, खोटेहाङ गाउँपालिकाको दुर्गम गाउँ बस्तीका जनताहरूलाई समेत सेवा दिने अध्यक्ष राईले बताए ।
गाउँ गाउँमा सडक गोरेटो पुगेका भए पनि हिउँदमा मात्रै गाडी चल्ने भएकाले वर्षायाममा बाटो भत्किनाले एम्बुलेन्स सेवामा असर पार्ने अध्यक्ष राईले बताए । तर गाईघाट–दिक्तेल सडक सञ्चालनमा आयो भने वडासम्म जसरी भए पनि एम्बुलेन्स सञ्चालन गर्ने उनले बताए ।
स्वास्थ्य चौकीमा प्राथमिक उपचार मात्रै हुने भएकाले गम्भीररूपका बिरामीहरूलाई सदरमुकमदेखि बाहिरसम्म पठाउनु पर्ने अवस्थामा यातायातको समस्या आएको स्थानीयहरूलेबताएका छन् । स्थानीय सरकार आएसँगै गाउँ–गाउँमा सडक पुगेको भए पनि एम्बुलेन्स सेवा नहुँदा स्थानीयबासीको अकालमा ज्यान जाने गरेको थियो । गाउँघरमा बिरामी हुँदा डोको, झोलुङ्गामा मानिसले बोकेर घण्टौँको बाटो पार गरी गाडीको पहुँच भएको ठाउँसम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीयबासीले बताएका छन् ।
बिरामीलाई बोकेर गाडीको पहुँच भएको ठाउँसम्म पु¥याई सार्वजनिक गाडीमा कोचिएर सदरमुकामलगायतका अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता एम्बुलेन्स सेवा सञ्चालन भएपछि हटेको रौतामाई गाउँपालिकाका प्रेस संयोजक सीताराम राईले बताए ।
एम्बुलेन्स सेवा नभएकाले गत वैशाखमा ५ नम्बर वडाका एकजना स्थानीयबासीको ज्यान गएको थियो । अचानक बिरामी भएपछि गाईघाटबाट एम्बुलेन्स मगाएको भए पनि एम्बुलेन्स नपुगी नै बिरामीको ज्यान गएको संयोजक राईले बताए । समयमा उचार नपाउँदा बर्सेनी धेरै जनाको ज्यान जाने गरेको उनले बताए ।
































