बिर्तामोड/ चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आइतबार झापाको बिर्तामोडस्थित कन्काई हस्पिटल तोडफोड गरेका छन् ।
एपेण्डिक्सको समस्या भएपछि सूर्याेदय नगरपालिका–९ की २२ वर्षीया विविता तामाङलाई उपचारका लागि गत बुधबार कन्काई हस्पिटलमा भर्ना गरिएको थियो । डाक्टर सन्तोषकुमार मिश्रले उनको उपचार गरेका थिए । उपचारको क्रममा आइतबार बिहान तामाङको निधन भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् ।
मृतककी सानीआमा सम्झना राईले घटनामा चिकित्सकको लापरबाही मात्र नभएर हत्या गरेको आरोप लगाइन् । उनले हत्यामा चिकित्सक मिश्र संलग्न भएको भन्दै उनीमाथि कानूनबमोजिम कारवाही हुनुपर्ने बताइन् । उपचार नहुने हो भने रेफर गरिदिन पटक–पटक अनुरोध गर्दा हस्पिटलले नमानेको आरोप लगाउँदै राईले आइतबार बिहान मृत्यु भएपछि आँखामा टेप लगाएर रेफर गरेको बताइन् ।
‘जिउँदो मान्छेलाई आँखामा टेप लगाइन्छ ?’ प्रश्न गर्दै राईले भनिन्, ‘विराटनगरको नोबेल हस्पिटल पुर्याउँदा डेडबडी किन ल्याएको भनेपछि फर्काएर ल्याएका हौं ।’ मृतकका आफन्तको दबावपछि प्रहरीले चिकित्सक मिश्रलाई सुरक्षा दिएर अस्पतालमा उपस्थित गराएको थियो । त्यसक्रममा उपस्थित भीडले चिकित्सक मिश्रमाथि हातपातसमेत गरेको थियो ।
आन्दोलनकारीले अस्पतालमा तोडफोड शुरु गरेपछि प्रहरीले भीड नियन्त्रणका लागि तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा अस्पतालको झ्याल, ढोका, सिसा फुटेको छ भने फार्मेसी कक्ष, रिसेप्सनलगायत फर्निचरका सामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
लगभग दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शनकारीको भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट सूर्याेदय नगरपालिका वडानम्बर १० का अध्यक्ष तथा नगरका प्रवक्ता पेम्बा उगेन लामा ‘भाइचुङ’ सहित एक दर्जन आफन्त घाइते भएका छन् । अर्का स्थानीय सुजन राईको टाउकोमा चोट लागेको छ ।
यो समाचार तयार पार्दासम्म मृतकका आफन्त, अस्पताल र प्रशासनबीच छलफल भइरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । शव भने अस्पतालमै रहेको बिर्तामोडका डिएसपी थापाले जानकारी दिए ।