पाँचथर । फिदिम बजारको मेनरोडमा बिहीबार दिउँसो भएको आगलागीमा एक करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट दुई व्यक्तिको तीनवटा घरमा पूर्णरूपमा र दुई दुईवटा घर आंशिक रूपमा जल्दा त्यतिको परिणाममा क्षति भएको प्रहरीले जनाएको हो ।
आगलागीबाट इन्द्रकुमारी थापा मगरको काठ र ढुङ्गा माटोले बनेको दुई तले दुईवटा घर जल्दा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको हो । त्यस्तै सोही घरमा सीता योङ्हाङले सञ्चालन गरेको सीता होटल एण्ड जलका सम्पूर्ण सामग्री जल्दा १६ लाख ३० हजार रुपैयाँ, इन्दु जबेगुले सञ्चालन गरेको इस्मा स्टोर्सका सम्पूर्ण सामग्री जल्दा दश लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको हो । सोही घरमा रहेको रणप्रसाद लिम्बूको नगद, क्यामेरा, महत्वपूर्ण कागजात जल्दा एक लाख ३५ हजार रुपैयाँ र भीम केरुङको टिभीलगायतका अन्य सामग्री जल्दा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सँगै रहेको बिनाकुमारी मगरको काठ र टिनले बनेको घर पूर्णरूपमा जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
उक्त घरमा तारणीकुमार साहले सञ्चालन गरेको पाथीभरा मिष्ठान्न भण्डार र हरिप्रसाद भट्टराईले सञ्चालन गरेको फलफूल पसलका सम्पूर्ण सामग्री जलेका छन् । पसल जल्दा साहको १९ लाख ३८ हजार रुपैयाँ र भट्टराईको दश लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीबाट छेउमा रहेको सावित्रा योङ्हाङको घरको भित्ता र तेस्रो तलामा आगो लाग्दा २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सावित्राकै घरमा सञ्चालनमा रहेको पाँचथर गेष्ट हाउसको नौ वटा कोठामा रहेका सामग्री जल्दा १४ लाख ६० हजार रुपैयाँको क्षति भएको छ ।
त्यस्तै छेउमा रहेको नरमाया कार्की ढकालको पक्की घरमा समेत आंशिक रूपमा क्षति पुगेको छ । घरअगाडि रहेको घुम्ती भत्काइएको थियो । घर र पसल गरी चारलाख ८० हजार रुपैयाँ क्षति पुगेको छ । घुम्तीमा रहेको गुलाव मोहम्मदको पसलमा सात लाख रुपैयाँ र नरमायाको पक्की घरमा रहेको एनएमबी बैङ्कको सिसिटिभीलगायतका उपकरण जल्दा एक लाख ५० हजार रुपैयाँ क्षति भएको पाँचथर प्रहरीले जनाएको छ । बिहीबार दिउँसो सवा एक बजे बिनाकुमारी मगरको घरमा रहेको पाथीभरा मिष्ठान्न भण्डारबाट तेलबाट सल्किन गई आगो शुरु भएको थियो । फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
































