उदयपुर । उदयपुर जिल्लाको मुख्य नदी त्रियुगाको पानीमा वासिङमेसिनको धमिलो पानी मिसिएपछि प्रदूषित हुँदै गएको छ ।
मेसिनबाट निस्किएको धमिलो पानी व्यवस्थापन नगरी सिधै नदीमा मिसाइदिएकाले त्रियुगा नदीको पानी प्रदूषित हुँदै गएको हो । चौदण्डीगढी नगरपालिका–५ सिवाईमा सञ्चालित केबी बालुवा वासिङ सेन्टरले बालुवा धोएको पानी सिधै नदीमा मिसाइदिएकाले स्वच्छ सफा पानी प्रदूषित हुँदै गएको स्थानीयबासीले बताएका छन् ।
नदी किनारमा बसोबास गर्दै आएका स्थानीयवासीले नदीको पानी पिउने, लुगा धुने, नुहाउनेलगायतका धेरै कुरामा प्रयोग गर्दै आएको छ । खेतमा पानी लगाउने र माछा मार्ने नदीको पानी मेसिन राखेपछि प्रदूषित हुँदै गएको स्थानीय मुरारीप्रसाद चौधरीले बताए ।
मेसिनबाट निस्केको धमिलो पानी सेन्टरले व्यवस्थापन नगर्दा नदीको पानी प्रदूषित हुँदै गएको चौधरीले बताए । नदीको पानी प्रदूषित भएपछि मानिस तथा पशु चौपायलाई पानी पिउन योग्य नभएको उनले बताए । प्रदूषित पानीले गर्दा माछा कम पाउन थालेको चौधरीले बताए ।
स्वच्छ सफा पानी मेसिनले गर्दा धमिलो भएको छ । यस्तो पानी पशुलाई खुवाउँदा विभिन्न रोगको सङ्क्रमण आउने सम्भावना भएको चौधरीले बताए । पशुपालेरै जीविकोपार्जन गर्ने यस भेगका दर्जनांै पशुपालक चिन्तित भएका छन् ।
मानव र पशुलाई यस्तो प्रदूषित पानीले सिधै असर गर्ने भएकाले सञ्चालकले ध्यान दिनु पर्ने उनीहरूको भनाइ छ । तर सञ्चालकले यसप्रति कुनै ध्यान नदिएको टोल सुधार समितिका अध्यक्ष राजेश राईले बताए । मेसिन सञ्चालन भएकोमा केही स्थानीयले काम पाएको भए पनि यसबाट निस्केका प्रदूषणले ठूलो महामारी फैलाउने सङ्केत देखिएको उनले बताए ।
यस्ता खालका मेसिन सेन्टर सञ्चालन गर्न अनुमति दिने अधिकार नभएको वडाले जनाएको छ । माथिल्लो निकायबाट नै सिफारिस दिएपछि वडाले केही नगरेको जनाएको छ । नगरपालिका, घरेलुलगायतका माथिल्लो निकायबाट सिफारिस लिएर आएपछि वडाले पनि सिफारीस दिएको वडा कार्यालयले जनाएको छ । उक्त मेसिन सञ्चालन गर्न अनुमति दिने अधिकार नभएको पालिकाले जनाएको छ । मानव धन–जनको क्षति पु¥याउने काम भएको भए अनुगमन गरी कारबाही गर्ने पालिकाले जनाएको छ ।