इटहरी/ गर्मी बढेसँगै सडक पेटीमा राखिएको जुस तथा पेयपदार्थको बिक्री बढ्न थालेको छ । इटहरी बजारमा हाते मेसिनबाट जुस बनाउने व्यवसाय फष्टाएको छ भने बजारका विभिन्न ठेलाहरूमा चिसो पेय पदार्थ र आइसक्रिम बेच्नेहरू पनि ठाउँ–ठाउँमा बढिरहेका छन् ।
बिहानैदेखि बजारमा जुस पिउने सर्वसाधारणको भीड देखिन थालेको छ । गर्मीबाट राहत मिल्ने भएकोले जुस पिउने उपभोक्ता बढ्दै गएका हुन् । इटहरीमा उखुको जुस बेच्दै आएका उदयपुर स्थायी घर भई बलियामा बस्दै आएका सन्तोष कार्कीले गर्मी बढेसँगै उखुको जुसको कारोबार बढेको बताए । उनले भने, ‘गर्मी बढेसँगै व्यापार पनि बढेको छ ।
उखुको जुसको मूल्य प्रतिगिलास २० रुपैयाँ रहेको छ । गर्मीको समयमा मात्रै फस्टाउने उखुको जुस व्यापारबाट लाखौं रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यसको कमाईले घरपरिवारको जनजीविका चलाउनुका साथै छोराछोरीलाई शिक्षादिक्षा दिन सकिएको बताउँछन कार्की । छोरीलाई नीजि स्कुल नै पढाएर घर खर्च चलाएको उनी बताउँछन् ।
इटहरी–५ जनता बस्तीका मैरुन खातुन उखुको जुस बेचेरै मनग्य आम्दानी गर्न सफल भएकी छन् । सडकबाटै उखुको जुस बेचेर उनले राम्रै आम्दानी गर्दैछिन् । सानो लगानीबाट शुरु हुने यो व्यापारमा दिनको ९ सयदेखि १५ सयसम्म कमाइ हुने उनी बताउँछिन् । गर्मी याममा उखुको जुसको व्यापार बढ्ने गर्छ । उनी ९ वर्षदेखि इटहरीमा जुसको व्यापार गरिरहेका छन् ।
‘उखुको जुस बेचेरै दैनिक उखु किनेर ल्याउँदा ५ सय लाग्छ’ –उनी भन्छिन् । उखुको जुस यो सिजनमा बढी बिक्री हुने उनको भनाइ छ । ‘कम मेहनतमा हजारौं कमाइ हुन्छ’ –उनी भन्छिन् । गर्मीको सिजनमा उखुको जुस बेचे पनि अन्य समयमा भने विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा अरु व्यवसाय सञ्चालन गर्ने गरेको उनी बताउँछिन् ।
इटहरी चौक आसपासका स्थानहरूमा जुस बेच्न व्यापारीहरूलाई भ्याई नभ्याई छ । गर्मी मौसम शुरु भएसँगै जुस तथा फलफूल व्यापार यतिखेर बढिरहेको बताउँछन् अर्का व्यापारी इटहरी–९ बीपी चौकका जयप्रकाश चौधरी । १२ वर्षदेखि निरन्तर यही व्यवसायमा लागेका चौधरी भन्छन्, ‘गर्मीयाममा राम्रो बिक्री भइरहेको छ ।’ बजारका चोक र सडक छेउछाउमा उखुको जुस बेचेर व्यापारीहरूले मनग्य आम्दानी गर्न थालेका छन् ।
दिउँसोतिर विभिन्न कामको लागि बजारतिर निस्कने मानिसहरू उखु जुसतर्फ बढी आकर्षित हुने गरेका छन् । बिहानैदेखि व्यस्त देखिने उखु जुस ठेलाहरूमा राम्रै व्यापार हुने गरेको अर्का ठेला व्यापारी चित्ररञ्जन साह बताउँछन् । १९ वर्षको उमेरमै दिदीबहिनी पढाउनु र घरखर्च गर्छन् । मासिक २० देखि ३० हजार रुपैयाँ कमाउँछन् ।
विदेशमा गएर चर्को घाममा दुःख खेपेर काम गर्नुभन्दा उखुको जुस बेच्ने काम राम्रो भएको उनीहरू सुनाउँछन् । काम सानो र ठूलो नहुने भएकाले आफ्नो व्यापारबाट खुशी भएको उनीहरूले बताए । काम नगर्ने, घरमै बस्ने र कामको खोजीमा विदेशतिर जाने प्रवृत्तिले राम्रो आम्दानी हुने मसिना काममा नेपालीभन्दा भारतीयहरू बढी सक्रिय रहेका छन् । त्यसैले काम ठूलो–सानो नभनी काम नपाएर विदेशिनुभन्दा आफ्नै देशमा काम गर्ने हो भने आत्मनिर्भर बन्न सकिन्छ ।