धरान / धरान १५ श्याम चोक नजिकै भाडामा बस्दै आएकी राधिका भुजेलले आफ्नो जीवन रक्षाका लागि उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन् ।
सामान्य ज्याला मजदुरी गरेर घरखर्च चलाइरहेकी उनले ७ महिनाअघिदेखि कलेजो र किड्नीमा क्यान्सर भएपछि उनलाई समस्या परेको हो । ज्याला मजदुरी गरेर मानसिक रोगी श्रीमान र छोरा अनि खुट्टा काटिएको छोराको लालनपालन गर्ने गरेकी उनले आफुलाई क्यान्सर लागेपछि घरखर्च चलाउन समेत उनलाई समस्या परेको छ ।
श्रीमान र एक छोरा मानसिक रोगी र अर्का छोराको खुट्टा काटिएको कारणले उनीहरुले काम गर्न नसक्ने अवस्थामा छन् । उनका एक छोरा भने निर्माण क्षेत्रमा मजदुरी गर्छन । तिनै छोराले कमाएको कमाइले अहिले उनिहरुले बल्लतल्ल हातमुख जोड्न पाएका छन् ।
एकपटक उपचार गर्दा ५० हजारभन्दा बढी सकिने भएकोले अहिले उपचारको लागि रकमको अभाव भएको छ । चिकित्सकहरुले नियमित उपचार गरेमा रोग निको हुने बताए पनि रकम अभावको कारणले नियमित उपचार हुन नसकेको भुजेलले बताइन ।