बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाले ३ करोड ९० लाखको लागतमा कार्यालय भवन निर्माण गर्ने भएको छ । भवनको बिहीबार एक समारोका बीच शिलान्यास गरिएको छ ।
हल्दिबारी–५ मा रहेको धनुष पोखरीनजिकै नयाँ भवन निर्माण शुरु भएको हो । गाउँपालिका कार्यालय हाल भाडाको घरमा रहेको छ । भवनको निर्माणकार्य आगामी चैत्र मसान्तसम्ममा सम्पन्न हुने ठेक्का सम्झौतामा उल्लेख छ ।
‘द्वार एक, सेवा अनेक’ हुने गरी नक्साङ्कन शुरु गरिएको भवन धनुष आकारको रहनेछ । स्थानीय धनुष पोखरीको अस्तित्वलाई व्यापक बनाउन धनुषको आकारमा गाउँपालिका भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । धनुष आकारमा निर्माण हुने भवनमा विभिन्न ८ वटा ब्लक रहनेछन् ।
काठमाडौको किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनीले स्वीकृत लागत अनुमानको २९ प्रतिशत कम्ती लागतमा भवन निर्माण गर्नका लागि बोलपत्र दर्ता गरेपछि उसैलाई ठेक्का दिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । स्थानीय ५ जना दाताले उपलब्ध गराएको १ बिघा ९ कठ्ठा जमिनमा गाउँपालिकाको नयाँ भवन निर्माण हुन लागेको हो ।