धरान उपमहानगरपालिका वडा नम्बर १५ चेम्जोङपथमा निर्माण भएको थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान सङ्घ धरान नगरसमिति र सुनसरी जिल्ला समितिको संयुक्त पहलमा भवन उद्घाटन भएको छ ।

प्रमुख अतिथि सङ्घका केन्द्रीय सल्लाहकार तथा पूर्व शान्तिमन्त्री रकम चेम्जोङले एक कार्यक्रमका बीच भवन उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्व सांसद् डिकबहादुर चेम्जोङ, पूर्व सांसद् टीकाराम चेम्जोङ, केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङलगायतका विशेष अतिथिहरूले शुभकामना दिनुभएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, देवान समाज, छथरे समाज, बेघा सयङलगायतका सङ्घ–संस्थाहरूलाई निम्त्याइएको थियो ।

भवन निर्माण समितिका अध्यक्ष दुर्गामान चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण समितिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य सुमन चेम्जोङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव मदन चेम्जोङ र सदस्य सागर सरगमले गर्नुभएको थियो ।

दाताको सहयोगमा भवन
सङ्घको भवन निर्माणका लागि जिल्ला अध्यक्ष तथा निर्माण समितिका सल्लाहकार वसन्त चेम्जोङले २५ लाख मूल्य बराबरको ५ धुर जग्गा उपलब्ध गराउनुभएको थियो । उक्त कार्यक्रममा एकसेट खाट र घडी पनि संस्थालाई दिनुभएको थियो । सो जग्गामा भवन निर्माण गर्नका लागि सङ्घका अमेरिका शाखा, वेलायत (युके) शाखा, जापान शाखा, कोरिया शाखा र धरानका चेम्जोङ दाजुभाइ तथा चेलीहरूले आर्थिक सहयोग गर्नुभएको थियो । उक्त आर्थिक सहयोगबाट प्राप्त भएको ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ ।

सो भवनपरिसरमा नगरकमिटीको मातहतमा रहने गरी जग्गादाता वसन्त चेम्जोङ र उहाँकी श्रीमतीको प्रतीमासमेत निर्माण हुने भएको छ । धरानका चेम्जोङ वंश दाजुभाइहरूलाई एकीकृत गरेर लाने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको निर्माण समिति अध्यक्ष दुर्गामान चेम्जोङले बताउनुभयो ।

सामाजिक कार्यमा संस्था
थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान सङ्घको केन्द्रीय कमिटी २०५८ सालमा स्थापना भएको थियो । धरान नगरकमिटी भने २०६७ सालमा स्थापना भएको हो । संस्थाले पहिलेदेखि नै सामाजिक कार्यहरू गर्दै आए को छ ।

सो क्रममा सङ्घले बुढासुब्बा मन्दिरपरिसरमा २ लाख ५० हजार लागतमा पानी ट्याङ्की निर्माण गरिदिएको छ भने धरानमा एम्बुलेन्स सेवासमेत सञ्चालन गरिरहेको छ । सङ्घले केलाङ समूह निर्माण गरी च्याब्रुङ प्रशिक्षण, लिम्बू भाषा प्रशिक्षणलगायतका कार्य गर्दै आइरहेको छ । संस्थाले अक्षयकोष खडा गरेर चेम्जोङ समुदायको आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउँदै आइरहेको कुरा केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका उपाध्यक्ष सुमन चेम्जोङले बताउनुभयो ।