इनरुवा । सुनसरी लागूऔषध प्रयोगकर्ताको सङ्ख्यात्मक उपस्थितिका हिसाबले मुलुककै दोस्रो स्थानमा छ । प्रदेश नम्बर एकको पहिलो स्थानमा पर्ने सुनसरीका लागि भारतसँगको खुला सीमा प्रमुख कारकका रूपमा रहँदै आएको छ ।

महेन्द्रनगर, धरान र इटहरीजस्ता क्षेत्रमा लागूऔषधको बढी कारोबार हुन्छ र प्रयोगकर्ताको सङ्ख्यासमेत यिनै क्षेत्रमा उच्च छ । यद्यपि कारोबारी र प्रयोगकर्ताहरूका लागि भारतसँग सीमा जोडिएको सुनसरीको ६५ किलोमिटर खुलाक्षेत्र ट्रान्जिट पोइन्टका रूपमा रहँदै आएको छ । पहाडी क्षेत्रबाट नदीमा बाँसको डुङ्गामा लुकाएर गरिने तस्करीको शैली होस् या अन्य तवरबाट हुने ओसार–पसार । कोशी गाउँपालिकाको भण्टाबारीसहितका क्षेत्र लागूऔषध र दुव्र्यसनीको रोजाइमा पर्दै आएको छ ।

सुनसरी प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार चालू आ.व.को वैशाखसम्म १ सय ५६ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमा २ सय ४६ जना पुरुष र २ जना महिला संलग्न रहेको पाइएको छ । जसमध्ये १७ जना फरार रहेको जनाएको प्रहरीले लागूऔषध मुद्दामा संलग्न पाइएकाहरूमा धेरैजसो युवावस्थाका रहेका छन् । लागूऔषध कारोबारी र प्रयोगकर्ताप्रतिको निगरानी र रोकथामको विषय दुई देशीय इण्डो–नेपाल सुरक्षा बैठकका एजेण्डामा प्राथमिकतामा पर्ने गरे पनि पूर्णतया नियन्त्रणमा आउन भने सकेको देखिँदैन ।

यस्ता यावत् कुरालाई मध्यनजर गर्दै कोशी गाउँपालिकाले विद्यालयस्तरबाट दुव्र्यसनविरुद्ध अभियानको थालनी गर्न लागेको छ । सुरक्षित समाज निर्माण गर्ने उद्देश्यकासाथ गाउँपालिकाको कार्यालयले विद्यालय शिक्षामा दुव्र्यसनविरुद्धको सचेतना कक्षा सञ्चालनमा ल्याउने गरी रणनीति तय गर्नलागेको जनाएको छ । जसका लागि गाउँपालिकाको कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुनसरीमा लागू भएको दुव्र्यसन विरुद्धको फ्यान अभियानलाई आवश्यक बजेट विनियोजन सहित प्रभावकारी कार्यक्रम सञ्चालनमा ल्याइने जनाएको छ ।

तत्कालका लागि आवश्यक रकम जोहो गरिने बताएका गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आगामी बजेटमा समावेश गरी दुव्र्यसनविरुद्धको दीर्घकालीन योजना कार्यान्वयनमा ल्याइने बताए । अध्यक्ष अन्सारीले विद्यालयकेन्द्रित कार्यक्रम सञ्चालनमा ल्याइने बताए । विद्यार्थी स्वयम्लाई कार्यक्रममा सहभागी गराइँदा घर, परिवार हुँदै सिङ्गो समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले विद्यालयकेन्द्रित योजनालाई अघि सार्न लागिएको उनले बताए । दुव्र्यसनमुक्त समाज निर्माणका लागि हर घर दुव्र्यसनमुक्त बनाउने अभियान शुरुवातको क्रममा अध्यक्ष अन्सारीले त्यस्तो धारणा राखेका हुन् ।

अभियानको औपचारिक उद्घाटन कार्यक्रममा सुनसरीका एसपी राजन अधिकारीसहित गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिका साथै विद्यालयका शिक्षक, अभिभावकसँगै स्थानीय फ्यान क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा स्थानीय दिलिपकुमार मण्डलको घरमा फ्यान क्लबका बालबालिकाले दुव्र्यसनमुक्त मेरो घर भन्ने स्टिकर टाँस गरेका थिए । त्यस्तो स्टिकरमा आफू दुव्र्यसन गर्दिन र घर कम्पाउण्डमा दुव्र्यसन नगरी दिनुहोला भन्ने व्यहोरा उल्लेख गरिएको हुन्छ । जसमा घरमूलीको लिखित प्रतिबद्धता अनिवार्य गराइन्छ । जसलाई फ्यान क्लबले निगरानी र खबरदारीसमेत गर्नेछ । सुनसरीमा दुव्र्यसन विरुद्धको अभियानको शुरुवात गराएका एसपी अधिकारी जिल्लामा कार्यकालको अन्तिम दिनसमेत अभियानको प्रचार–प्रसारका लागि कोशी गाउँपालिका पुगेका थिए ।

राष्ट्रिय मावि लौकहीमा गठन भएको फ्यान क्लबकी संयोजक पुनिता यादवले दुव्र्यसनविरुद्धको अभियानलाई हरेक घरमा पु¥याउँदै समृद्ध समाज निर्माणको पहलमा आफूहरू लागिपर्ने बताइन् । पहिलो चरणमा कोशी गाउँपालिकाका एक हजार घरमा अभिभावकको प्रतिबद्धतासहितको स्टिकर टाँस गरिने समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुव्र्यसन विरुद्धको फ्यान अभियानका सम्पर्क व्यक्ति शिव शर्माले बताए ।