धरानर गत चैत २५ गते धरान(१३ जिरोपोइन्टस्थित भएको भयानक दुर्घटनामा परेर घाइते थप एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ का नरबहादुर परियारको मृत्यु भएको हो ।
मृतक परियारका आफन्तजनले भने उपचारमा वेवास्ता गरेको आरोप लगाएका छन् । गम्भीर घाइते भएका परियारको लामो समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचार भएको थियो । उनको एउटा आँखा फुटेको थियो भने टाउकोमा गम्भीर चोट थियो ।

आइसियुबाट निकालेको केही दिनमा फेरि आइसियु चाहिएपछि वीपीमा आइसियु अभाव भएकाले विराटनगरको नर्सिङ होममा लैजानु परेको र नर्सिङ होममा लगेसँगै घाइतेको उपचार खर्च व्यवहोरीरहेको पुर्वेली यातायात व्यवसायी सेवा कम्पनीले अस्पताल र औषधी पसलको विल नतिर्दा  उपचार र औषधी नपाएको घाइतेको परीवारले  बताएका छन् ।

दुर्घटनाको उपचार खर्च व्यहोरी राखेको पुर्वेली यातायात व्यवसायी सेवा कम्पनीले उपचारमा कुनै कमी नरहेको दाबी गरेको छ । 

उनको मृत्युसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । बुधबारेबाट धरान आउदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु भएको थियो ।